प्रतिनिधिसभामा दुई प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले सेफगार्ड, एन्टी– डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७५ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सेफगार्ड, एन्टी– डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५ का सम्बन्धमा विचार गरियोस भनी सदन समक्ष राख्नुभएका प्रस्ताव स्वीकृत भएका हुन ।

यसैबीच, प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा रहनुभएका राजकिशोर यादवको सट्टा लक्ष्मणलाल कर्ण तथा सङ्घीय संसद् संसदीय सुनुवाइ समितिका सदस्य योगेश भट्टराईको सट्टा देव गुरुङ रहने गरी सदस्यको नाम हेरफेरका सम्बन्धमा सभामुख कृष्णबहादुर महराले राख्नुभएको प्रस्तावलाई सदनले सहमति जनाएको थियो ।

यसअघि बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्रमा धेरै समस्या र वित्तीय उत्तरदायित्व कमजोर भएकै कारणले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक ल्याउनु परेको स्पष्ट पार्नुभयो ।

उहाँले करीब एक दशक देखिको यो प्रयास यस पटक भने सफल भएको बताउँदै विगतमा उत्तरदायित्व पालना गर्ने क्रममा देखिएका अनियमितताका विषय सम्बोधन हुने गरी विधेयक प्रस्तुत भएको र विधेयकको माध्यमबाट आर्थिक सुशासन कायम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सबै कुराको समस्याको समाधान ऐन मात्र नभएको बताउँदै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “मुलुकको आर्थिक अनुशासन कायम गराउने धेरै कानून छन् । कानून कार्यान्वयन प्रभावकारी ढङ्गले गर्न सकियो भने आर्थिक विसङगति, कमी कमजोरी हल गरेर अघि बढनसक्छौ ।” अर्थमन्त्रीसँग सांसद डा मीनेन्द्र रिजाल र प्रेम सुवाललगायतले प्रश्न राख्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक आजै २।३० बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?