संविधान संशोधन नगरी मनाइने संविधान दिवस गाईजात्रे : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले संविधानले मधेसबासी जनताको भावना नसमेटको आरोप लगाउनुभएको छ । संघीय संसदको बजेट अधिवेशन समापनलाई बिहीबार सम्बोधन गर्दै नेता महतोले संविधान दिवस (असोज ३) गतेका दिन मधेसमा ‘ब्ल्याक आउट’ गर्न लागिएको बताउनुभयो ।

अमेरिकामा संविधानलाई कयौँ पटक संशोधन गर्दैै सबै नागरिकलाई अधिकार दिएर विश्वकै समृद्ध भएको उल्लेख गर्दै उहाँले एकल जातीय अहंकारबाट देशलाई मुक्त गर्नुपर्ने माग गर्नुभयो । संविधान संशोधन नगरी मनाइने संविधान दिवस गाईजात्रे मात्र उहाँको टिप्पणी छ ।

‘जनताको छातीमा गोली हानेर संविधान दिवस मनाउने? संविधान दिवस होइन जनताले ब्ल्याक आउट गर्छन्’, उहाँले भन्नुभयोे, ‘जनताका अधिकार खोसेर कसरी हुन्छ संविधान दिवस ? सरकारले सांसद रेशम चौधरीलाई जेल हालेर बसेको छ । खोई त समानता, पहिचा र अधिकार?’ हिमाल, पहाड, मधेसका सबैले अधिकार पाउनुपर्ने बताउँदै उहाँले सरकार नै संविधान असफल पार्नेतर्फ लागेको जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?