त्रिदेशीय टी-ट्वान्टी क्रिकेट : जिम्बावेलाई हार चखाउँदै बंगलादेश फाइनलमा

एजेन्सी । त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको चौंथो खेलमा बंगलादेशले जिम्बावेलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।बुधबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई ३९ रनले पराजित गरेको हो ।

ढाकामा बंगलादेशले दिएको १७६ रनको लक्ष्य पछ्याएको जिम्बावे २० ओभरमा अलआउट हुँदै १३६ रनमा समेटियो । जिम्बावेका लागि रिचमण्ड मुटुमबामीले ५४ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै केली जार्भिसले २७ तथा कप्तान ह्यामिल्टन मासाकाज्डाले २५ रन बनाए ।

बंगलादेशका सैफुल इस्लामले ३ विकेट लिए । अमिनुल इस्लाम र मुस्ताफिजुर रहमानले २ र २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । बंगलादेशको लागि ममुदउल्लाहले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा लिटोन दासले ३८ रन बनाए । यस्तै मुस्फिकर रहिमले ३२ रन बनाए ।

जिम्बावेका केली जार्भिसले ३ विकेट लिए । क्रिस एमपुफुको नाममा २ विकेट रह्यो । योसँगै बंगलादेशले जिम्बावेलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई ३ विकेटले हराएको थियो ।

जिम्बावेलाई दोस्रो खेलमा हराएसँगै बंगलादेश सिरिजको फाइनलमा पुगेको छ । अब बंगलादेशले फाइनलमा अफगानिस्तानसँग खेल्नेछ ।तीन राष्ट्रबीचको सिरिजमा बंगलादेशले ३ खेलमा ४ अंक जोडेको छ । अफगानिस्तानको २ खेलमा ४ अंक छ । ३ खेलमा हार व्यहोरेको जिम्बावे भने सिरिजबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?