देशका अधिकाशं पहाडी भेगमा बाढी र पहिरो, खोटाङमा सबै यातायात सेवा अवरुद्ध !

काठमाडौं – लगातारको वर्षापछि देशका विभिन्न पहाडी भेगहरुमा बाढी र पहरोले क्षति पुर्याएको छ । मसथर भूभागमा भने डुबानका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । रातिदेखि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएका छन्। राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मङ्गलबार रातिदेखि यातायात सेवा अवरुद्ध भएको हो।

मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताए। “काठमाडौँबाट मङ्गलबार बेलुका छुटेको सबै सवारी साधन सिन्धुली जिल्लाको खाङ्साङबेसीमा रोकिएका छन्”, उनले भने, “भलबाढी र पहिरोका कारण गाडी रोकिएपछि हजारौँ यात्रु बीच सडकमै अलपत्र परेका छन्। तत्काल पहिरो हटाएर बीच सडकमा अलपत्र बनेका यात्रुको उद्धार गर्न सम्बन्धित निकायले पहल थाल्नुपर्ने अवस्था आएको छ।”

दशैँको मुखमा यातायात सेवा अवरुद्ध भएपछि खोटाङबाट राजधानी तथा तराईका जिल्ला आवतजावत गर्ने यात्रुलाई सबैभन्दा बढी समस्या भएको छ। जिल्लामा सञ्चालित यातायात सेवा अवरुद्धले दैनिक उपभोग्यवस्तु अभाव हुने सम्भावना देखिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए।

हप्ता दिनदेखि लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश ग्रामीण सकडसमेत अवरुद्ध बनेको छ। कच्ची अवस्थामा रहेको जिल्लाको सबै ग्रामीण सडक अवरुद्ध भएपछि आवतजावत तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ।

दिक्तेल–चखेवा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल मात्तिम, दिक्तेल–पञ्चमीलगायत शाखा सडक पूर्णरूपमा अवरुद्ध छ। सडकमा हिलो जम्नुका साथै कतिपय स्थानमा पहिरो खस्दा दक्षिणी क्षेत्र खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा, बराहपोखरी, दिप्रुङ चुइचुम्मा गाउँपालिका जाने कुनै पनि सडकमा सवारी चल्न सकेका छैनन्।

जन्तेढुङ्गा गाउँपालिकाबाट सिन्ताङ, फाक्टाङ–धाप्लाङघाट तथा खोटाङबजार–रसुवाघाट सडक चार महिनादेखि ठप्प छ। यसअघिसम्म सञ्चालनमा रहेको दिक्तेल–बाक्सिला तथा दिक्तेल–ऐँसेलुखर्क सडकसमेत हप्ता दिनदेखि लगातार परेको वर्षाका कारण हौँचुरमा ठूलो पहिरो झरेपछि अवरुद्ध भएको जनाइएको छ।

कालोपत्रको काम थालिएको मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवा ४६ किलोमिटर सडक निर्माण कम्पनीले निर्वाधरूपमा सवारी साधन चल्ने वातावरण बनाउन नसक्दा अवरुद्ध बनेको स्थानीयवासीले बताएका छन्। उक्त सडकखण्डमा गत जेठ २६ गते झरेको पहिरो हटाउन नपाउँदै पुनः पहिरो झरेको निर्माण कम्पनी रमण गोल्डेन गुड जेबीका प्रबन्ध निर्देशक शाङ्गे शेर्पाले बताए।

वर्षाका कारण हिलो जम्दा प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारकै सडकमा पैदलयात्रुलाई हिँड्डुल गर्नसमेत सकस भएको छ। दिक्तेल बजारको विभिन्न ठाउँमा जमेको हिलोमा कतिपय सवारी साधन घण्टौँ अड्किने गरेको छ। सडकमा जमेको हिलोमा सवारी साधन चलाउँदा हिलो उछिट्टिएर पैदलयात्रुले सास्ती खेप्नुपरेको छ। अहिलेसम्म कच्ची अवस्थामा रहेको दिक्तेल बजार कालोपत्र गर्न सडक विभागबाट पाँच वर्षअघि बजेट आए पनि स्थानीयवासीको अवरोधका कारण अहिलेसम्म पनि कालोपत्र हुनसकेको छैन।

पूर्वी पहाडी जिल्ला खोटाङमा तीन विमानस्थल छन्। तीनवटै विमानस्थल अहिले अवरुद्ध छन्। दिक्तेल बजारबाट सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थल पहिरोका कारण दुई वर्षदेखि अवरुद्ध बनेको हो। भर्खरै धावनमार्गमा कालोपत्र गरिएको लामीडाँडा र थामखर्क विमानस्थल लगातारको वर्षाका कारण अवरुद्ध भएको जनाइएको छ। वर्षा र बाढीपहिरोका कारण हवाई र सडक यातायात सेवा दुवै अवरुद्ध भएपछि खोटाङ राजधानी काठमाडौँ तथा तराईका जिल्लासँग यातायात सेवाबाट विच्छेद भएको छ। रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?