दशैंको मुखैमा बढ्यो तरकारीको मुल्य, के भन्दैछन व्यवसायी ?

काठमाडौं। दशैं नजिकिएसँगै बजारमा तरकारीको मुल्य अत्याधिक मात्रामा बढेको छ । खासगरि आलु, प्याज, बोडी , करेला तथा अन्य हरियो तरकारीको मुल्य अस्वभाबिक रुपमा बढेको पाइएको छ । यसरी अस्वभाबिक बढेको मुल्यका कारण उपभोक्ता मारमा परेका छन । केहीदिनको आंकडालाइ हेर्ने हो भने आकासिएको तरकारीको मुल्यका कारण उपभोक्तामा खरिद गर्नै नसक्ने अवस्था बनिसकेको छ ।
कालिमाटी तरकारी तथा फलफूल बजारमा सरदर दैनिक ५४ प्रकारका तरकारी तथा फलफूलको खरिद बिक्री गर्दै आइरहेको छ । पछिल्लो एक सातामा यिनीहरुमध्ये अधिकांशको भाउ बढेको छ । दैनिकरुपमा हरेकजसो भन्सामा पाक्ने आलु, प्याज, हरियो खुर्सानीजस्ता तरकारीको मूल्य थोकमा ह्वात्तै बढेको छ ।

भदौ २५ गते ३८ रुपैयाँ किलो थोक बिक्री भएको तनेबोडीको मूल्य असोज १ गते ९८ रुपैयाँ पुगेको छ । यस्तै, सोही दिन ३३ रुपैयाँमा बिक्री भएको तिते करेला एक सातामै १३६ प्रतिशतले बढेर ७८ रुपैयाँ पुगेको छ । ३३ रुपैयाँ किलोको घिरौला पनि सातौ दिनमा ७८ रुपैयाँ थोक मूल्य पुगेको छ ।
रातो आलुको मूल्य एक सातामै ४३ रुपैयाँबाट बढेर ५८ रुपैयाँ किलो पुगेको छ । एक साताअघि प्रतिकिलो ५९ रुपैयाँमा थोक बिक्री भइको सुकेको प्याजको मूल्य ८९ रुपैयाँ पुगेको छ ।
गोलभेडाको मूल्य भने यो साता घट्दो क्रममा देखिएको छ । नेपाली ठूलो गोलभेडा प्रतिकिलो ७ रुपैयाँ, नेपाली सानो ६ रुपैयाँ र भारतीय गोलभेडाको मूल्य भने स्थीर छ ।
कालिमाटी तरकारी तथा फलफूल व्यवसायी संघले भने तरकारीको मूल्य नबढेको दावी गरेको छ । संघका अध्यक्ष भरत खतिवडाले तरकारीको मूल्य बढेको कुरा अफबाह भएको बताउनु भयो । व्यवसायीलाई गलत देखाउन मूल्य बढेको हल्ला गरिएको उहाँको दावी छ । ‘पानी परेका कारण सडक अबरुद्ध छ । बजारमा तरकारी अभाव भयो होला तर मूल्य बढेको छैन,’ खतिवडाले भन्नुभयो ।

यता कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले भने वर्षाकै कारण तरकारीको मूल्य बढेको जनाएको छ । प्याजको मूल्य भारतमै बढेका कारण नेपालमा असर परेको र अन्य तरकारी आवश्यक मात्रामा बजारमा नआएको एवं आएका पनि कृषकले नै बढी मूल्य लिएको पाइएको समितिका उप निर्देशक तथा प्रवक्ता बिनय श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?