अमेरिकासँग वार्ताका लागि तालिबान खुला

काठमाडौं । अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग “वार्ताको ढोका” अझै खुला रहेको बताउनुभएको छ । युद्धग्रस्त मुलुक अफगानिस्तानमा मंगलबार दुईवटा भिषण बम हमला गरिएको केही घण्टा नबित्दै तालिबानका तर्फबाट उक्त भनाई सार्वजनिक भएको हो ।

तालिबान समूहले जिम्मेवारी लिएका दुईवटा चुनावी र्याली लक्षित आत्मघाती बम आक्रमणमा कम्तीमा ४८ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।तालिबानसँगको वार्ताका मध्यस्थकर्ता शेर मोहम्मद अब्बास स्टानिक्जाईले देशभर भएका आक्रमणमा तालिबान समूहको भूमिका रहेको र त्यो सही कदम भएको दाबी गर्नुभएको छ ।

बीबीसीलाई दिएको प्रतिक्रियामा स्टानिक्जाईले अमेरिकासँगको वार्ताका क्रममा हजारौं तालिबानीको हत्या गरेको अमेरिकी प्रतिनिधिहरुले नै स्वीकार गरेको बताउनुभयो । विद्रोहीहरुले वार्ताकै बीचमा पनि युद्ध लड्नुको विकल्प नभएकामा उहाँले जोड दिनुभयो । उहाँले तालिबानका तर्फबाट वार्ताको ढोका अद्यापी खुला रहेको स्पष्ट गर्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान र अफगानी नेताहरुसँग क्याम्प डेभिडमा सेप्टेम्बर ११ अघि आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको घोषणा गर्नुभएको थियो । तालिबान समूहले काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताउनुभएको थियो । उहाँले तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गर्नुभएको थियो ।

आतंकवादी संगठन अल–कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भिषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको थियो ।

अमेरिकामा आक्रमणलगत्तै अल-कायदाका नेता ओशामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिबानी सरकारलाई अपदस्थ गरेको थियो । अल-कायदा र तालिबान विरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ ।

वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ । हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ ।

अफगानिस्तानमा राष्ट्रपतिको चुनाव हुने तयारी भइरहेकाले पनि आगामी दिनमा निकै बढी हिंसाका घटना हुने अनुमान गरिएका छन् । अफगानिस्तानमा आगामी सेप्टेम्बर २८ मा राष्ट्रपतिको चुनाव हुँदैछ । यो चुनावलाई तालिबान समूहले बहिस्कार गरेको छ ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले चुनावी सभामा उपस्थित नहुन सर्वसाधारणलाई पहिल्यै जानकारी गराइएको बताउँदै तालिबानको अनुरोधलाई अवज्ञा गर्नेमाथि हुने क्षतिको जिम्मेवार आफूहरु नहुने बताउनुभयो ।

मुजाहिदले यसै महिनाको शुरुमा एएफपीसँग कुरा गर्दै वार्ता र संघर्ष दुबै सँगसँगै अघि बढ्ने बताउनुभएको थियो । यदि अमेरिकी राष्ट्रपतिले वार्ता स्थगित गरे संघर्षको बाटो मात्र बाँकी रहने उहाँले स्पष्ट गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?