भ्रमण वर्षलक्षित सहकारीको अभियान

काठमाडौं । नगरकोटस्थित बृहत पर्यटन सहकारी संस्थाले ‘भ्रमण वर्ष-२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । सहकारीले आफ्नो अभियानको थालनी विदेशी पाहुनाका लागि नगरकोटका १० घरमा घरबास (होमस्टे) व्यवस्थापनबाट गरेको छ ।

भ्रमण वर्षलाई लक्षित गरी विशेषगरी विदेशी पाहुनाका लागि दोस्रो चरणमा पर्यटन सूचना केन्द्र स्थापना गरिने सहकारीका अध्यक्ष अनिश तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सहकारीमार्फत नगरकोटमा स्वदेशी, विदेशी पाहुनाका लागि स्वच्छ वातावरण, स्वस्थ खाना, सहज एवं रमणीय बसाइँको व्यवस्थापनमा लागेका छौँ ।” उहाँले घरवासको सङ्ख्या बढाउँदै लगिने तथा अन्य पर्यटन प्रवद्र्धनका योजना बनाइएको जानकारी दिनुभयो ।

सहकारीले भ्रमण वर्षलाई लक्षित गरी विदेशी पर्यटकका लागि नगरकोटमा गाइड नभएकाले स्थानीय सक्षम युवा छनोट गरी तालीम दिइने, पर्यटकीय एकीकृत बस्ती निर्माणको कार्ययोजना बनाउन सम्भाव्यता अध्ययन थालिने, नगरकोटका होटलमा अग्र्यानिक तरकारी प्रयोग गराउन हाललाई उपलब्ध गराउने र त्यससम्बन्धी खेती शुरु गर्ने योजना बनाएको छ ।

पर्यटकीय नगरकोट क्षेत्र काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका-२ र भक्तपुरको चाँगुनारायण नगरपालिका-६ मा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?