जुम्लामा यात्रुबाहक बस दुर्घटना: एकको मृत्यु, पाँच जना घाइते

काठमाडौं । कालीकोटको तिला गुफा नगरपालिका–१, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जुम्लाको सिञ्जाबाट सदरमुकाम आउँदै गरेको ना१ख ७६६४ नंको बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।

कालीकोट र जुम्लाको सिमाना रहेको नाग्ममा दुई दिशाबाट आएका बसलाई छक्याउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार घाइते हुनेमा मुगुको छायानाथ, रारा नगरपालिका–८ का ३० वर्षीया जुनमती रावत, सोही ठाउँकी ३२ वर्षीया लालदेवी रावत रहेका छन् ।

यस्तै अछामको ढकेरी गाउँपालिकाका ३५ वर्षीय डिल्ली भूल छन् भने जुम्लाको चन्दननाथ नगरपालिका–९ बस्ने छाया उपाध्याय र गर्भकन्या उपाध्याय रहेको प्रहरी नायब उपरीक्षक धामीले बताउनुभयो । टेलिफोन सम्पर्क हुन नसक्ने भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

घटनास्थलतर्फ प्रजिअ र प्रहरी निरीक्षकको टोली गएको र थप विवरण बुधबार आउने उहाँले बताउनुभयो । घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?