हजारको नोटमा भएका संकेतहरुको विशेषता यस्ता छन्

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेका सबै नोटमा विभिन्न संकेतहरु राखिएका हुन्छन । अचम्म लाग्न सक्छ किन ती संकेतहरु राखिएका होलान भनेर । तर ती संकेत त्यतिकै भने राखिएका होइनन् । विभिन्न दरका नोटको अग्रभाग र पृष्टभागमा भएका केहि सुरक्षणहरुको विशेषता साथै महत्व रहेका रहेका छन् । राष्ट्र बैंकले जारी गरेको हजारको नोटका अग्र र पृष्ठभागमा भएका संकेतहरुको बारेमा तल उल्लेख गरिएको छ ।

१ पानीछाप:
नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट-मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ । उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागज माथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

२ नेपाल राष्ट्र बैंक लेखिएको भाग:
नेपाल राष्ट्र बैंकको को संक्षिप्त रुप नेपाल राष्ट्र बैंक (एन आर बि) को केही अंश नोटको अग्रभागमा र उक्त नेराबैं को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ । नोटको उक्त (एन आर बि) प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट नेराबैं देखिन्छ । उक्त (एन आर बि) अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

३ सुरक्षण धागो:
सुरक्षण धागोमा नेराबैं र उक्त (एन आर बि) को ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको
छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ । नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ । उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।

तस्वीर गूगल

४ इन्टग्लियो प्रिन्ट:
नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।”, भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहिनहरुका लागि राखिएका तीन वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका इन्ट्याग्लो प्रिन्टका विशेषताहरु हुन् । उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।

स्रोत: नेपाल राष्ट्र बैक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?