बर्षाका कारण स्थगित भलिबल प्रतियोगिताको फाईनल खेल आज

काठमाडौं । पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको स्थगित भएको फाईनल खेल आज हुने भएको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बर्षा बाधक बनेपछि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको सोमबारको फाईनल खेल स्थगित भएको थियो । खेल दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।

बर्षाले खेल स्थगित हुनु अघि दुवै टिमले समान १-१ सेट जितेका थिए । पहिलो सेट आर्मीले २५-२३ र दोस्रो सेट पुलिसले २५-२० ले जितेको थियो । तेस्रो सेटमा पुलिस २३-१९ ले अगाडी रहेको अवस्थामा पानीले खेल प्रभावित बन्यो ।

अर्को खेलमा विभागीय टिम एपीएफलाई हराउँदै गण्डकी प्रदेश तेस्रो बन्यो । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ ।

विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?