नेपाल आइडल कहिलेबाट ? अडिसन र उमेरबारे भयो यस्तो घोषणा

काठमाडौं । गायन रियालीटी सो ‘नेपाल आइडल’को तेश्रो संस्करण घोषणा भएको छ। एपी वान एचडीबाट प्रसारण हुँदै आएको ‘नेपाल आइडल’ को पहिलो र दोश्रो संस्करणको सफलतापछि तेश्रो संस्करणको तयारी भएको हो।

तेस्रो सिजनका लागि देशका मुख्य ६ वटा सहरमा अडिसन हुने भएको छ । मंगलबार पोखरादेखि सुरु हुने अडिसन कात्तिक ६ गते काडमाडौंबाट टुंगिने कार्यक्रम आयोजकले जानकारी दिएको छ । बुटवलमा ३ असोज, नेपालगञ्जमा ६ असोज, वीरगन्जमा १० असोज र विर्तामोडमा १४ असोजमा अडिसन हुँदैछ। मंगलबार पोखराको सिमालचौरस्थित जनप्रिय माविमा अडिसन हुने जनाइएको छ।

१६ देखि ३० वर्षको उमेर समूहका नेपाली नागरिकले अडिसनमा सहभागी हुन पाउनेछन् । अडिसनमा सहभागी हुन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो र नेपाली नागरिकताको फोटोकपी पेस गर्नुपर्ने छ। अडिसन बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

फर्म भर्न र प्रतियोगितमा भाग लिन कुनै शुल्क लाग्ने छैन। नेपाल आइडल सिजन ३ को निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी रहेका छन्।

नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउने व्यवस्था आयोजकले संस्थाले गरेको छ। सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत नेपाल आइडलमा भाग लिन सक्नेछन्।

नेपाल आइडलका प्रस्तोतामा आसिफ शाह फाइनल भए पनि उनका सहकर्मी तय हुन केही दिन लाग्नेछ। मंसिरतिरबाट कार्यक्रम प्रशारणमा आउने आयोजकले संस्थाले जनाएको छ।

पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए। बुद्ध पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?