वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा कांग्रेसको अडान संविधान विपरित छ : भीम रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले लिएको अडानप्रति आपत्ति जनाउनु भएको छ ।

नेता रावलले संविधान विपरित नेपाली काँग्रेसले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अडान लिएको दावी गर्दै आपत्ति जनाउनु भएको हो । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो विधेयकबारे नेपाली काँग्रेसले लिएको अडान संविधान विपरित भएकाले त्यसलाई तत्काल पारित गर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिलाई दवाव दिनु भयो । सो समितिको बैठकमा नागरिकता सम्बन्धि विधेयकमा वैवाहिक अंगीकृत नागरिकता दिन नेपाल नागरिक ऐन, २०६३ कै व्यवस्थालाई निरन्तरता दिनुपर्ने काँग्रेसको फरक मत छ । काँग्रेसको सो मत संविधान विपरित रहेकाले मान्य नहुने सत्तारुढ नेकपामा नेता रावलको तर्क छ । नेता रावलले शिर्ष तहमा छलफल गरेर संविधान बनेकाले नागरिकताका सम्बन्धमा फेरी शिर्ष तहका राजनीतिक सहमति जुटाउने बहाना बनाएर नेपाली काँग्रेसले मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने षडयन्त्र गरिरहेको दावी पनि गर्नु भयो ।

नेता रावलले विगतमा पनि नेपालको राष्ट्रिय हित विपरित विदेशीलाई नेपाली नागरिकता दिइएको उल्लेख गर्दै त्यसलाई छानवीन गरेर विदेशी नागरिकले लिएका नेपाली नागरिकता सबै खारेज गर्न पनि सरकारसँग माग गर्नु भयो । त्यसका लागि छानवीन गर्न उच्चस्तरीय छानवीन समिति गठन गर्नुपर्ने नेता रावलको भनाई छ ।

नेता रावलले विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएर नेपालको राष्ट्रियतालाई कमजोर बनाउन नदिन सबै राजनीतिक दल तथा नागरिक समुदायलाई पनि सचेत गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?