काठमाडौंको मनमैजुमा बसभित्रै २ बालिकामाथि बलात्कार

काठमाडाैं । काठमाडौंको मनमैजुमा २ बालिकामाथि बसभित्रै बलात्कार भएको खुलेको छ ।

तारकेश्वर नगरपालिका–१० मनमैजु चोकमा घाइते अवस्थामा बालिका फेला परेपछि घटनाको अनुसन्धान गर्ने क्रममा बसभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य खुलेको हो । प्रहरीका अनुसार मनमैंजु चोकमा एक बालिका घाइते अवस्थामा फेला परेकी थिइन् । प्रहरीले ११ वर्षीय बालिकाको उद्दार गरेर अस्पताल भर्ना गरेको थियो ।

अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा बालिकामाथि बलात्कार भएको खुलेको हो । प्रहरीले बालिकासँगको सोधपुछका क्रममा बा ४ ख ८२ नम्बरको बसमा उनीसहित १ जना अर्की बालिकामाथि समेत बलात्कार भएको खुलेको हो ।

बलात्कारको अभियोगमा बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीका अनुसार एल्जितले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको मेडिकल परीक्षणबाट पुष्टि भइसकेको छ ।

उनले ११ वर्षीया बालिकाकी साथी अर्की १० वर्षीया बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?