हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक अलपत्र

सोलुखुम्बु । तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौँ विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौं फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

त्यस्तै शनिबार २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएको थियो भने आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको प्राधिकरण प्रमुख अधिकारीले बताउनुभयो । आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो । बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ ।

निश्चित समय तालिका मिलाएर आएका पर्यटक बढी मारमा परेका छन् । सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकले सबैभन्दा बढी हवाईसेवा प्रयोग गर्छन् । खुम्बु क्षेत्रसम्म सडक पहुँच नपुगेका कारण पनि यात्रुका लागि हवाइजहाजको विकल्प कम हुन्छ । एक दिनको पैदलयात्रा पछि मात्र सडक मार्ग प्रयोग गर्न सकिने भए पनि बर्खाको समयमा करीब दुई दिनको पैदल हिँड्नु पर्नेहुन्छ ।

विमानस्थलमा हवाइजहाज नभए पनि हेलिकप्टर प्रयोग गर्न सकिने भए पनि बाक्लो हुस्सुका कारण थप समस्या भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नेपाल भ्रमणमा आउने पर्यटकको एक प्रमुख गन्तव्य सगरमाथा क्षेत्र पर्छ । त्यसैले यो मौसममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आउने पर्यटकको चाप अत्यधिक हुन्छ । सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा यो बेला मौसम अनुकूल हुँदा दैनिक ३०० भन्दा बढीसम्म पर्यटक आउने गर्छन् । रासस / तस्वीर गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?