करेन्ट लागेर एकको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो ।

आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी २३ वर्षीय शिवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

नदीमा बगेर बेपत्ता

दाङमा नदीमा बगेर एक बेपत्ता भएका छन् । आइतबार ६ बजेतिर लमही नगरपालिका–६ मध्यनगर निवासी ६५ वर्षीय दंखु चौधरीलाई राप्ती नदीले बगाउँदा बेपत्ता भएका हुन् । नदी तर्ने क्रममा उनलाई नदीले बगाएको थियो ।

शिशुको शव फेला

दाङमा एक शिशुको शव फेला परेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ हिडिमे डाँडागाउँस्थित फागुना चौधरीको मकै बारीमा पाँच/छ महीनाको नवजात शिशुको शव फेला परेको हो । आइतबार साँझ शिशुको शव फेला परेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?