‘सत्ताको उन्मादले हो कि सरकार असफल भएको कुण्ठाले हो ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँके घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभएको हो । बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरि राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराईएको आरोप लगाउनुभयो । जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनावद्ध ढंगले बांके घटना गराईएको उल्लेख गर्दै असंवैधानिक र विधि विपरितका क्रियाकलापको निन्दा र भत्र्सना गर्नुभयो । भदौ २६ गते बाँकेको खजुरा गाउपालिका वडा नम्बर १ स्थित सितापुरमा नेपाली कांग्रेसले गरेको राष्ट्रिय जागरण सभामा सत्तारुढ दलका कार्यकर्ताले अंरिगालको जसरी प्रवेश गरि कार्यक्रम विथोल्नुको साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको दाबी उहाँले गर्नुभयो ।

गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दे दोषीलाई कारवाही हुने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले बांके घटनामा संलग्न निर्मल खत्री, रोशन सिंह ठकुरी र लोक बहादुर शाहीलाई २८ गते राती नै नियन्त्रणमा लिईएको र संलग्न अन्यको खोजी तिब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिईसकेको बताउनुभएको थियो । उहाँले खजुरा गाउपालिका वडा नम्बर १ मा हेमन्त थापा, लोकबहादुर शाही लगायत ६ जनाको समुहले कार्यक्रमलाई विथोल्ने प्रयास गरेको ,होहल्लाको क्रममा सभापति किरण कोइरालाको हात भांच्चिएकोमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनालाई राजनीतिक विषयको रुपमा नलिन आग्रह गर्नुभयो । उहाँले सरकारले आफ्नो कारवाहीको प्रक्रियालाई अगाडि बढाईसकेको भन्दै कानुन मिच्ने र शान्ति प्रक्रियालाई खलल पुर्याउनेलाई कडा कारवाही गर्न सरकार दृढ रहेको बताउनुभयो ।

गृहमन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै सांसद दिलेन्द्र प्रसाद बडूले सत्तारुढ दलका वडा अध्यक्ष सुमन मल्लको घटनामा प्रमुख भुमिका रहेको दाबी गर्दै सरकारले नै घटनालाई राजनीतिकरण गरेको जिकिर गर्नुभयो । त्यसैगरी, सांसद अमरेश कुमार सिंह लगायत कांग्रेसका सांसदहरुले किटानी जाहेरी दिएका सत्तारुढ दलका कार्यकर्तालाई कारवाही हुन्छ कि हुदैन भनी प्रश्न गर्नुभएको थियो ।

राम बहादुर विष्टले सरकार कमजोर भएर प्रतिपक्षी दलमाथि अरिंगाल प्रयोग गर्ने काम भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “पञ्चालयत कालमा सरकार कमजोर भयो भने मण्डलेहरुलाई अघि सारिन्थ्यो । अहिले सरकार कमजोर भएर हो कि अरिंगालहरुलाई अघि सारिदै छ । अरिंगाल र मण्डले एकै हुन कि फरक फरक हुन ?”

सांसद गगन थापाले घटनाको तथ्यलाई सरकारले तोडमोड गरेर अपराधीको नाम समेत लुकाएको आरोप लगाउनुभयो । गृहमन्त्री थापाले घटना संलग्नहरु नेपाल कम्युनिष्ट पार्टीका सदस्य थिए र पक्राउ पर्छन् भन्ने प्रतिवद्धता नजनाएसम्म सदन संञ्चालन हुन नसक्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?