‘आरटीजीएस’ प्रणालीको शुरुवात, अब चेक नकाटी पनि भुक्तानी पाइने

काठमाडौं । आजबाट नेपाल राष्ट्र बैंकले चेक नकाटी पनि तुरुन्त भुक्तानी पाउने व्यबस्था गरेको छ । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सुचारु गर्दै राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो ।

यो व्यबस्था लागु भएसँगै २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नकाटी रियल टाइम भुक्तानी हुनेछ । राष्ट्र बैंकले यही भदौ १९ गते आरटीजीएस नियमावली ल्याएको थियो । सोही अनुसार २० गते निर्देशन दिँदै २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको र अहिलेसम्म २८ वटै वाणिज्य बैंकहरुमा यो प्रणाली आइसकेको राष्ट्र बैंकले जनाएको छ ।

२ लाख कारोबारलाई स्वेच्छिक बनाइएको छ भने २० लाखभन्दा बढीको कारोबार गर्दा रियल टाइम ग्रस सेटलमेन्ट प्रणालीमार्फत् अनिवार्य रुपमा भुक्तानी गर्नुपर्नेछ । एउटा बैङ्कमा खाता भएको व्यक्तिले अर्को बैङ्कमा खाता भएको व्यक्तिलाई ठूलो परिणाममा भुक्तानी दिन यो प्रणाली लागु गरिएको हो । यसअघि चेकबाट मात्रै भुक्तानी हुन्थ्यो । जसको क्लियरिङ भुक्तानीको भोलिपल्ट मात्रै हुन्थ्यो, अब तत्काल क्लियरिङ हुन्छ ।

विसं २०७१ साउन ४ मा नेपाल पेमेन्ट सिस्टम जारी भएको थियो । केन्द्रिय बैङ्कको तेस्रो रणनीतिक योजनामा नेपाल राष्ट्र बैङ्कमा आरटीजीएस स्थापना गर्ने उल्लेख भएको थियो । २०७३ साउन ३२ मा आरटीजीएस , सिडिएस र राष्ट्रिय भुक्तानी प्रणालीको अध्ययन गर्न कार्यदल गठन भयो । सो कार्यदलले सोही बर्षको चैतमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि ०७४ साउन २२ गते आरटीजीएस स्थापना गर्ने सम्बन्धमा युकेएड सक्षमलाई टिओर उपलब्ध गराइएको थियो ।

साथै आरटीजीएसको उद्घाटन गर्भनर डा। चिरञ्जीवि नेपाल र लर्ड मेयर अफ लण्डनका पिटर एलिष्टनले संयुक्त रुपमा गर्नुभएको हो । युके एडको सहयोगमा शुरु भएको उक्त प्रणाली तयार हुन १८ महिना लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?