प्रेरणा तिमल्सिना / काठमाडौं धेरैलाई थाहा नहुनसक्छ तर, काठमाडौंको त्रिपुरेश्वरमा हाम्रा मौलिक वाध्यवाजनहरुको संग्रहालय छ । राष्ट्रिय लोक बाजा संग्रहालय नामक यस संग्रहालयमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रयोग गरिने जातीय, धार्मिक, ऐतिहासिक महत्वका विभिन्न लोक बाजाहरु सजाइएका छन् । बाजाहरुलाई सिलसिलावद्धरुपमा भूगोलका आधारमा राखिएको छ । चम्किला बत्तीहरुको प्रयोगले संग्रहालयको वातावरण झनै मनमोहक बनाएको छ । संग्रहालय आफै पनि सांस्कृतिक शैलीमा निर्माण भएकाले झ्यालढोका र टुँडालमा कुँदिएका बुट्टाहरुले सुनमा सुगन्ध थपेका छन् ।
लोकबाजाहरुको संरक्षणका निमित्त देशमा स्थापित यो एक मात्र संग्रहालय हो । रामप्रसाद कँडेलको एकल पहलबाट निर्मित यस संग्रहालयमा सारङ्गी, ढोल, नगरा, नरसिंहा, हुड्को, नागफाणी, बिनायो, मादल, डमरु, फातुङ्ग, मृदङ्ग आदि गरी जम्मा ६ सय ५५ थरीका बाजाहरु छन् । हाम्रै देशमा मात्र १३ हजारभन्दा बढी मौलिक बाजाहरु रहेकाले थप बाजाहरुको खोज जारी रहेको संग्रहालयका संरक्षक तथा संस्थापक रामप्रसाद कँडेलले बताउनुभयो ।
‘पश्चिमा शैलीको बढ्दो प्रभावका कारण आजकल टुङ्ना र डम्फुको धुनमा भन्दा गितार र ड्रमको बिटमा रमाउने युवापुस्ताका निमित्त आफ्नो पहिचानका बारेमा जान्ने उपयुक्त स्थान हो राष्ट्रिय लोकबाजा संग्रहालय,’ भन्नुहुन्छ कँडेल ।
त्यसो त संग्रहालयमा बढी विद्यार्थीहरु नै आउने गरेका छन् । कोर्सको माग पूरा गर्न होस् या निरिक्षण गर्न विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुको जमात देख्न सकिन्छ यहाँ । यसका अतिरिक्त विशेषगरी संगीतमै अध्ययन अनुसन्धान गर्ने शिक्षित वर्ग र केही विदेशी पर्यटकहरु पनि आइरहने रामप्रसादले बताउनुभयो ।
संगीत फगत ध्वनिहरुको तालमेल मात्र नभएर मानव सभ्यताको चित्र हो । कुनै संगीतले युगको पहिचान बोकेको हुन्छ भने कुनैले समाजको । विभिन्न भूगोलको फरक कालखण्डमा बसोबास गर्ने मानिसका प्रकार, उनीहरुको जीवनशैली, सोचाइको परिधि, चालचलन लगायत विविध पक्षको प्रतिबिम्ब हो संगीत । त्यसैले देशको मौलिक संगीत र वाध्यवाजनलाई त्यहाँको धरोहर मानिन्छ । सार्वजनिक सम्पत्तिका रुपमा जगेर्ना गरिन्छ । तर, यस्तो सम्पत्तिको अथाह भण्डार हुँदाहुँदै पनि त्यसको खोज, अनुसन्धान गर्न नसक्ने वा ध्यान नपु¥याउने, संरक्षणमा सधैं चुक्ने आदिजस्तो राज्यको प्रवृत्तिको निन्दा गर्नुहुन्छ उहाँ ।
हुन पनि प्रचारप्रसारको कमीले नै गर्दा होला संग्रहालयमा पर्यटक वा आगन्तुकहरुको उपस्थिति विरलै हुने गरेको छ । प्राय सुनसान नै हुन्छ यहाँको वातावरण । राज्यको अमुल्य यो धरोहरको संरक्षणमा यथासक्य ध्यान दिनु जरुरी छ । संग्रहालयको दृश्य लोकपथको लेन्सबाट यस्तो देखियो ..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया