नागरिकताको विषय झन जटिल बन्दै, विपक्षी सांसदको असहमति कायमै

काठमाडौँ । नागरिकता विधेयकलाई अन्तिम रुप दिने उद्देश्यले बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको छ । आज शनिबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले विधेयकमा फरक प्रस्ताव ल्याएपछि बैठक स्थगित भएको हो । नेपाली कांग्रेसका सांसदले अंगीकृत नागरिकतामा राखिएका प्रावधानबारे असहमति जनाएका थिए । उनीहरुले नागरिकता ऐन २०६३ अनुसारकै प्रावधान राखिनु पर्ने अडान राखेका थिए । विपक्षी सांसदहरुले अंगीकृत नागरिकता दिँदा अन्तरिम संविधानक कै व्यवस्था गर्नुपर्ने फरक मत राखेका हुन् ।
कांग्रेस सांसदहरुले फरक मत राखेपछि समितिकी सभापति शशी श्रेष्ठले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरेर मात्रै नागरितको विषय टुंगो लगाउने बताउनुभयो ।

आज बसेको बैठकमा कांग्रेसका ६ जना सांसदसहित राजपा सांसद राजकशिोर यादव, संघीय समाजवादीका सांसद राहसहायप्रसाद यादव, मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पनि असहमति गरेका छन् ।

सरकारले प्रस्ताव गरेको विधेयकमा भने नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले तत्कालै नागरिकता पाउने व्यवस्था गरिएको छ तर त्यस्तो नागरिकता पाएको ६ महिनाभित्र आफ्नो देशको नागरिकता परित्याग गरेको ’निस्सा’ पेस गर्नुपर्ने उल्लेख छ । विधेयकमा भनिएको छ, ‘तोकिएको समयमा निस्सा पेस नगरेमा नेपाली नागरिकता खारेज हुनेछ ।’

नागारिकता ऐन, २०६३ अनुसार नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारी समक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ । त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफुले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेश गर्नु पर्नेछ । यसमा खारेजको व्यवस्था थिएन । अहिले निस्सा पेश गर्न नसके खारेज नै हुने बुँदा थपिएको छ ।

यस्तै नेपाली महिलासँग विवाह गरेका पुरुष नेपालमै बस्न चाहेमा अंगीकृत नागरिकता दिनुपर्ने सांसदहरूको माग भने सम्बोधन नहुने भएको छ । नागारिकता ऐन, २०६३ अनुसार १५ वर्ष नेपालीमा स्थायी बसोबास गरेका पुरुषलाई सरकारले चाहेमा अंगीकृत नागरिकता दिने प्रावधान छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?