आपूर्ति मन्त्री मण्डल कस्सिए, गोपाल खड्कालाई कारवाही गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगिँदै

काठमाडौं, २७ भदौ ।पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता भएको ठहर गर्दै कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि कारवाही हुने भएको छ । खड्कालाई कारवाहीका लागि प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको आपूर्ति मन्त्री शिवकुमार मण्डलले भएको खुलासा गरेका छन ।सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा आपूर्ति मन्त्री मण्डलले मन्त्रालयको छानविनले जग्गा खरिद गर्दा अनियमितता भएको देखाएको बताए । उनले छानविनका क्रममा देखिएका तथ्यहरूसहितको प्रतिवेदन तयार गरी सोमवार प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको जानकारी दिए । मन्त्रालयले गरेको छानविनका आधारमा कारवाहीका लागि त्यसको प्रस्ताव आगामी मन्त्रीपरिषद्को बैठकमा लाने तयारी भएको मन्त्री मण्डलले बताए । उनले अप्रत्यक्ष रुपमा निगम नेतृत्वलाई कारवाही गर्न मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी गरिएको संकेत गरे ।निगमको जग्गा खरिद अनियमिततामा दोषी देखिएका कसैले पनि उन्मुक्ति नपाउने मन्त्री मण्डलले प्रष्ट पारे । संसदीय समितिहरूले दिएको प्रतिवेदनलाई पनि मन्त्रालयले गम्भीर रुपले हेरिरहेको उनले बताए । सोमवारमात्र संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निगमको जग्गा खरिदमा घोटाला भएको भन्दै त्यसमा संलग्न मन्त्रालयको तत्कालिन मन्त्री, सञ्चालक समिति र निगम अधिकारीमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?