काठमाडौँ, २२ पुस- सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गतेलाई तोकेको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको भन्दा एक दिन अगाडि निर्वाचन मिति तोकिएको हो । आयोग स्रोतका अनुसार राष्ट्रिय सभाको गठनपछि मात्रै प्रतिनिधिसभाको समानुपातिक परिणाम आउने भएकाले आयोगले छिटोमा फागुन १५ गते सबै परिणाम राष्ट्रपतिसमक्ष बुझाउन सक्ने सम्भावना रहेको खबर कान्तिपुरले छापेको छ राष्ट्रिय सभाको मतगणना प्राविधिक दृष्टिकोणले जटिल रहेकाले त्यसले कम्तीमा २ देखि ३ दिन समय लिन सक्ने अनुमान छ । ‘परिणामपछिका आवश्यक प्रक्रिया पूरा गरेर दललाई समानुपातिक सिट बाँडफाँट र पत्राचार माघ ३० गते गर्ने सम्भावना रहन्छ,’ स्रोतले भन्यो, ‘विजयी उम्मेदवारको नाम प्रस्ताव गर्न दलले न्यूनतम ७ दिन पाउने छन् । प्राप्त सूचीमा न्यूनतम २ दिनको छानबिनपछि नमिलेको विषय मिलाउन दलले ३ दिन पाउने छन् । यी सबै काम सक्दा फागुन १० गते कट्ने सम्भावना छ ।’ यसरी अगाडि बढदा नयाँ सरकार गठन फागुन दोस्रो सातापछि पुग्ने देखिन्छ वाम गठबन्धनले चुनाव परिणाममा भइरहेको ढिलाइलाई लिएर आयोगको विरोध गरिरहेका छन् । निर्वाचनको मिति धेरै पर लगिएको प्रति असन्तुष्टि जनाउँदै वाम गठबन्धनका नेताहरूले बिहीबारको सर्वदलीय बैठकमा राष्ट्रिय सभाको निर्वाचन माघ १० गतेको सेरोफेरोमा गराउन सुझाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आयोगका पदाधिकारीलाई बोलाएर प्रतिनिधिसभाको निर्वाचन परिणाम छिटो दिने वातावरण मिलाउन आग्रह गरेकी थिइन् । तर, आयोगले निर्वाचनका लागि न्यूनतम सबै कार्यक्रमहरू गर्नैपर्ने भएकाले प्रस्तावित मितिलाई धेरै वर सार्न नसकिने जानकारी सरकारलाई गराएको थियो । उद्योगमन्त्री मीन विश्वकर्माका अनुसार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री आफैंले आयोगले प्रस्ताव गरेभन्दा एक दिन अगाडि नै राष्ट्रिय सभा चुनाव गराउने प्रस्ताव राखेपछि सोहीअनुसारको निर्णय भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया