एटिएम ह्याकिङ प्रकरण : भारतमा रकम उपलब्ध गराउने जिम्मा प्रभु र ग्लोबल आइएमइ बैंकलाई

काठमाडौं । नेपालमा भएको ह्याकिङ प्रकरणपछि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सेवा अवरुद्ध भएको थियो । सेवा अवरुद्ध भएसँगै राष्ट्र बैंकले भारतमा रहेका नेपालीहरुलाई कार्ड नचलेर समस्यामा परेमा समन्वय गरि रकम उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

ह्याकिङ प्रकरणपछि रोकिएको नेप्सको सेवा सुचारु नहुन्जेल सम्मका लागी भारतमा रकम उपलब्ध गराउने जिम्मा प्रभु र ग्लोबल आइएमइ बैंकले पाएका छन ।
राष्ट्रबैेंकले बुधबार यसबारे नेप्ससँग आबद्ध बैंक तथा वित्तिय संस्थालाइ बोलाइ छलफल गरेर प्रभु र ग्लोबल आइएमइ बैंकलाइ भुक्तानी प्रबन्ध मिलाउन निर्देशन समेत दिएको छ ।

उक्त सेवा अवरुद्ध हुनुअघिका नेप्समा प्रयोग हुने गरेका डेबिट/क्रेडिट तथा प्रीपेड कार्डमा भएका रकमको निश्चित सीमासम्मका रकम दोब्बर नहुनेगरि रकमान्तर गर्न पाउने सेवा समेत राष्ट्र बैंकले दिएको निर्देशनमा उल्लेख गरेको छ ।

यसरी रकमान्तर गरिएको रकममा बैंकले अतिरिक्त शुल्क समेत लिन पाउनेछैन । बिभिन्न प्राविधिक कारणहरुले गर्दा भुक्तानी दिनको लागी असहज भैरहेको सम्बन्धित बैंकहरुले जनाएका छन । यसरी भुक्तानी रकम उपलब्ध गराउनको लागी भारतमा रहेका सम्बन्धित नियमक निकायसँग समन्वय गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले दिएको निर्देशनकै आधारमा मात्र काम गर्न कठिन साथै झन सेवा असुरक्षित हुने पनि उनिहरुले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?