वडा कार्यालय र गाडिमा आगजनी, नजिकै भेटियो शंकास्पद पत्र

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिका-१९ बागफाँटास्थित वडा कार्यालय र नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले बिहीबार राति आगजनी गरेको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ । नगर प्रवक्ताको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो ।

आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

मध्यरातमा आगजनी गरिएको भए पनि प्रहरीले भने आज बिहान ६ बजे खबर पाएको थियो । आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?