१७ विधेयक पारित गर्दै वर्षे अधिवेशन सम्पन्न

हेटौंडा । सत्र विधेयक, एक कार्यविधि र एक नियमावली पारित गर्दै प्रदेश ३ को प्रदेशसभाको वर्षे अधिवेशन सकिएको छ । आज प्रदेशसभाले पत्रकार सम्मेलन गरी अधिवेशन सकिएको जनाएको हो ।

वैशाख ३० गतेदेखि भदौ २५ गतेसम्म ५३ घण्टा एक मिनेटसम्म बसेको बजेट अधिवेशनसमेत भनिने सो अधिवेशन समापन गरिएको प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशन अवधिभर सात नयाँ विधेयक दर्ता भएको, अघिल्लो अधिवेशनको बाँकी नौ विधेयकसमेत गरी कूल १७ विधेयक पारित भएको र हालसम्म प्रस्तुत ४५ विधेयकमध्ये सबै पारित भएर प्रदेश प्रमुखकोमा प्रमाणीकरणका लागि पठाइएकामा ३८ वटा विधेयक प्रमाणीकरण भएर आएको उहाँले बताउनुभयो । सभामुख श्रेष्ठका अनुसार प्रदेशसभाले प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्य्विधि र प्रदेशसभा नियमावली पहिलो संशोधन २०७६ समेत पारित गरेको थियो ।

अधिवेशनका क्रममा प्रदेशसभा अन्तर्गतका सबै विषयगत समितिले आ आफ्नो वार्षिक प्रतिवेदनसभामा पेश गरेको, शिक्षा, स्वास्थ्य तथा कृषि समितिले चितवन र सिन्धुली जिल्लामा सञ्चालित सामूहिक चक्लाबन्धी खेती तथा मत्स्यपालन कार्यक्रमको स्थलगत प्रतिवेदन पेश गरेको, प्रदेशसभाले प्रदेशसभा दर्पण भाग दुई प्रकाशित गरेको सो अवसरमा जानकारी दिइएको थियोे ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?