डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्नुभएको छ । देश डेंगुले आक्रान्त भइसक्दा पनि सरकार मूकदर्शक बनेको भन्दै सांसद गौतमले उप–प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गर्नुभएको हो ।

‘स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? अब त प्रधानमन्त्रीज्यू पनि आइसक्नुभयो । यो बेलामा चुप लागेर बसेर हुँदैन’ सांसद गौतमले ‘रुलिङ गरेको भरमा झारा टारेर हुँदैन, म स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु, सरकार मुकदर्शक भएर हुँदैन, तत्काल संकटकाल घोषणा गरेर अघि बढ्नुपर्छ ।’

मन्त्री र स्वास्थ्यकर्मीसमेत डेंगुबाट प्रभावित हुँदा पनि स्वास्थ्यमन्त्री चुप बसेको भन्दै उहाँले राजीनामा माग गर्नुभएको हो । ‘मन्त्री स्वयं डेंगुको रोगले अस्पतालमा हुुनुहुन्छ । स्वास्थ्यकर्मी पनि यसबाट पीडित हुनुहुन्छ । ३ हजार जनता डेंगुबाट पीडित छ । सिंगो देश आक्रान्त छ । तर सरकार मौन छ । म यसमा घोर आपत्ति जनाउँदै स्वास्थ्यमन्त्रीको तत्काल राजीनामा माग गर्दछु’ सांसद गौतमले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?