अमेरिकी दूतावासले सरकारलाई स्पष्टीकरण सोधेकोबारे जवाफ चाहियो : पम्फा भुसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले नेकपा अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा गरेको कुराकानीको विषयलाई लिएर अमेरिकी दूतावासले स्पष्टीकरण सोधेकोबारे सरकारको जवाफले जवाफ दिनुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, ‘पूर्वप्रधानमन्त्री नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले चर्चामा रहेको इन्डो प्यासिफिक रणनीतिमा आवद्ध छैन भनेको विषयमा अमेरिकी दूतावासले स्पष्टीकरण माग्दैछ भन्ने आएको छ, यो बारे के हो नेपाल सरकारले भन्न जरुरी छ ।’

सांसद भुसालले आगामी नोभेम्बर ४ देखि १५ सम्म नेपालको सशस्त्र प्रहरीले र अमेरिकी सेनासँग दुईवटा प्रशिक्षण गर्ने भनी अमेरिकाले पत्र पठाएको भन्दै उक्त कार्यक्रम रद्ध गर्न पनि माग गर्नुभएको छ ।

सांसद भुसालले विगतदेखिनै नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । ‘नेपालको असंलग्न परराष्ट्र नीति अवलम्बन गरेर त्यस्तो प्रकारको इन्डो प्यासिफिक रणनीति अन्तर्गत नेपालको सशस्त्र प्रहरीसँग संयुक्त अभ्यास नगरियोस्’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?