कस्तो छ आगामी तीन दिनको मौसम ? यसोे भन्छ महाशाखा

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । न्यूनचापीय रेखासँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको मौसमविद्को भनाइ रहेको छ ।

आगामी दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । “वर्षा निरन्तर नभइ केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ । ”मौसमविद् प्रधानाङ्गले भन्नुभयो ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदै देशका केही स्थानमा मेघगर्जन-चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा आकस्मिक पानीको बहाव बढ्नसक्ने र पहाडी भू-भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन अनुरोध गरेको छ ।

हाल देशभरी आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशभर आशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै शनिबार देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?