नेकपा सचिवालय बैठकः निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने निर्वाचनको लागि दल दर्ता गराउने निर्णय गरेको हो । निर्वाचन आयोगमा दर्ता भएको दलहरुको रेकर्डमा नेपाल कम्युनिष्ट पार्टी भन्ने दल नरहेकोले दल दर्ता गराउनु पर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी कोष्ठ भित्र नेकपा लेखिने गरि निर्वाचन आयोगमा दर्ता भए पनि यो दलले निर्वाचनमा भाग लिएको छैन । तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र एकीकरण भइ नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पछि दल दर्ता गराउनु परेको हो । बैठकले दल दर्ता सम्बन्धि सम्पूर्ण काम गर्न महासचिव बिष्णु पौडेललाई जिम्मेवारी दिएको बैठक पछि प्रवक्त्ता नारायण काजी श्रेष्ठले जानकारी दिनु भयो ।

निर्वाचन आयोगले उपनिर्वाचनको लागि नया दलहरुको लागि भदौ मसान्तको समय तोक्दै सूचना प्रकाशित गरि सकेको छ । यस्तै बैठकमा पार्टी एकताका बाँकी काम अगाडि बढाउने बिषयमा सामान्य छलफल भए पनि कुनै निर्णय नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक सचिवालयको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?