चाड पर्वलाई लक्षित गरी सरकारले थाल्यो मिठाई पसलको अनुगमन

काठमाडौं । सरकारले काठमाडौंमा रहेका मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिएको छ । दशै, तिहारजस्ता चाड पर्वलाई लक्षित गरेर कृषि विकास मन्त्रालयकै अग्रसरतामा बुधबारबाट काठमाडौंको मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिइएको हो । कृषि राज्यमन्त्री रामकुमारी चौंधरी नेतृत्वको बजार अनुगमनमा निस्केको सरकारी टोलीले काठमाडौंको त्रिपुरेश्वरस्थित आँगन, गुलाव र सजन गोथ मिठाई पसलको अनुगमन गर्याे ।

गुणस्तरीय खाद्य बस्तुको उत्पादन र विक्री वितरणका लागि सम्बन्धित निकायलाई सचेत गराउन सो अनुगमनको कामलाई तीव्रता दिइएको कृषि राज्यमन्त्री चौंधरीले जानकारी दिनु भयो । उहाँले अनुगमनको क्रममा तीन वटै पसलहरुको व्यवस्थापकीय पक्ष कमजोर देखिएकाले उनीहरुले उत्पादन गरेका मिठाई र मिठाईका परिकारहरुको गुणस्तर चेकजाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको पनि बताउनु भयो । सरकारले सबै खाद्य बस्तु उत्पादन तथा विक्री वितरण केन्द्रहरुमा अनुगमनको कामलाई तीव्रता दिने योजना पनि बनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता बैद्यले खाद्य बस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनको कामलाई जोड दिइएको बताउनु भयो । उहाँले अनुगमनका क्रममा सफाईमा धेरै कमजोरी भेटिएको पनि बताउनु भयो । मिठाई पसलमा प्रयोग गरिएका घ्यू, रंगको गुणस्तरीयतामाथि प्रश्न उठेकाले त्यसको परीक्षणका लागि लगिएको पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?