वर्तमान सरकार र नेकपालाई बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प छैनः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारलाई बलियो बनाउँदै जनताको सेवा गर्नुको विकल्प नभएको बताउनुभएको छ । माओवादी जनयुद्धमा मारिएका सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेलको २१ औं स्मृतिमा पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कमजोरी सच्याउँदै सरकार र नेकपालाई बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले भन्नुभयो, ‘हामी सबै एकताबद्ध हुनुको कुनै विकल्प छैन । यही कम्युनिष्ट पार्टीलाई बलियो बनाएर, यही सरकारलाई बलियो बनाएर जनताको सेवा गर्नुको अर्को विकल्प छैन ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन खोज्ने गतिविधि भइरहेको उल्लेख गर्दै उहाँले त्यो स्वीकार्य नभएको स्पष्ट पार्नुभयो । ‘हिजोका निरंकुशतावादीहरु वा अरु कुनै नामका प्रतिक्रियावादी आएर नेपाललाई फेरि एकचोटि निरंकुशताको जाँतोमा पिस्न दिन सकिँदैन,’ उहाँले भन्नुभयो, ‘त्यो इतिहासलाई स्वीकार्य छैन, त्यो जनतालाई स्वीकार्य छैन, त्यो हामीलाई स्वीकार्य छैन ।’

‘राम्रा काम नभएका होइनन्, राम्रा काम गर्न नखोजिएको होइन, तर जनताका आशा अपेक्षाअनुसार काम नभएकोप्रति हामी पार्टी नेतृत्वको ध्यान गहिरो गरी गएको छ।’ दाहालले भन्नुभयो, ‘हाम्रा यदि केही कमजोरी भएका छन् भने त्यसलाई हामी सच्याउन चाहान्छौं । हामीभित्र केही अपुग छन् भने त्यसलाई पूरा गराउने बाटोमा जान चाहन्छौं । तर इतिहासको चक्कालाई पछाडि धकेल्ने, जनयुद्ध र जनआन्दोलनका हजारौं सहिदहरुको र लाखौं जनताको त्यागबाट प्राप्त भएको गणतन्त्र र यो समावेशी लोकतन्त्रलाई उल्ट्याउने कुनै हालतमा छुट दिन सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?