हिमाली जिल्ला मनाङमा पनि डेंगुको संक्रमण फैलियो

काठमाडौँ । हिमाली जिल्ला मनाङमा समेत डेंगुको संक्रमण फैलिएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउन १ गतेदेखि भदौ २४ गतेसम्ममात्रै ५ हजार ९५ जना डेंगु संक्रमणका नयाँ बिरामी थपिएका छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको संक्रमण गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा समेत पुगेको महाशाखाले जनाएको छ । डेंगुको संक्रमण ६१ जिल्लामा फैलिसकेको छ ।

केही वर्ष अघिसम्म तराई क्षेत्रमा मात्रै देखिने डेंगुको अहिले पहाड हुँदै हिमालसम्म पुगेको हो ।२०७६ साल वैशाखयताको तथ्याङकअनुसार हालसम्म ८ हजार भन्दा धेरै मानिसमा डेंगुको संक्रमण फैलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?