राष्ट्रिय चलचित्र ‘कन्फ्रेन्स’को कार्यक्रम तालिका सार्वजनिक, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय चलचित्र कन्फ्रेन्सको कार्यक्रम तालिका सार्वजनिक भएको छ । मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा तीन दिनसम्म काठमाडौंमा हुने कन्फ्रेन्समा ३ वटा प्यानल डिस्कसन, कार्यपत्र प्रस्तुति तथा छलफल हुनेछन् । भदौं २६ देखि २८ गतेसम्म चल्ने कन्फ्रेन्स नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा हरि शर्माले ‘समाजशास्त्रीय दृष्टिमा चलचित्र’ विषयमा आफ्नो धारणा राख्नुहुनेछ ।

पहिलो दिन ’नेपाली चलचित्रमा विविधताको खोजी’ शीर्षकमा हुने प्यानल डिस्कसनमा सोमत घिमिरे, दिपेन्द्र के खनाल, दीपकराज गिरी र लक्ष्मी बर्देवालाई यज्ञशले सहजिकरण गर्नेछन् । लोकरञ्जन पराजुलीले ’सिनेमा हेराइको पहिलो नेपाली अनुभव’का बारेमा बोल्दा सम्झना वाग्लेले ’नेपाली सिनेमामा लैंगिक प्रस्तुतीकरण’ बारे आफ्नो प्रस्तुति दिनुहुनेछ । ‘नेपाली चलचित्रमा राष्ट्रवाद’बारे उज्ज्वल प्रसाईं र अनुभव अजितले बोल्नुहुनेछ ।

दोस्रो दिन ’राजनीतिको आँखामा चलचित्र’ विषयक प्यानल डिस्कसनमा अनिल यादवले ठाकुर गैरे, अरुणदेव जोशी, डा.डिला संग्रौला र केशव झासँग सवालजवाफ गर्नुहुनेछ । सोही दिन नवनीधि दाहालले ’अनुभवको आलोकमा नेपाली सिनेमा शिक्षा’, अनुप सुवेदीले ’नेपालमा चलचित्रसम्बन्धी नीतिमा पुनरावलोकन’ र सरोज सापकोटाले नेपाली चलचित्रको बजारबारे बोल्नुहुनेछ ।

सोही दिनको अन्तिम सत्रमा वरिष्ठ कलाकार नीर शाहले नेपाली चलचित्रमा क्षेत्रमा बिताएको ५ दशकको अनुभव बताउनुहु्नेछ ।

अन्तिम दिन पूजासिंह राजवंशी, भास्कर गौतम, बलबहादुर थापा र सचिन घिमिरेले छुट्टाछुट्टै विषयमा आफ्नो प्रस्तुति दिनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?