डेंगु नियन्त्रण गर्न संकटकाल घोषणा गर्नुपर्छः राधेश्याम अधिकारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले मुलुकमा डेंगुको महामारी फैलिसकेकाले सरकारले संकटकाल घोषणा गर्नुपर्ने बताउनुभयो । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उहाँले सरकारले स्वास्थ्य क्षेत्रको संकटकाल घोषणा गरेर डेंगु नियन्त्रणको प्रयास गर्नु पर्ने बताउनुभयो ।

‘७७ जिल्लामध्ये ५६ जिल्लामा डेंगु फैलिसकेको छ, यो राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ति मान्नुपर्छ कि पर्दैन ?’ उहाँले प्रश्न गर्नुभयो सोध्नुभयोे, ‘स्वास्थ्यमा संकटकाल घोषणा गर्नु पर्छ कि गर्दैन ?’

सांसद अधिकारीले पश्चिम नेपालको बाँके र बर्दियामा डेंगु सुरु हुँदा नियन्त्रणको प्रयास प्रभावकारी नभएकै कारण अहिले ५६ जिल्लामा फैलिएको बताउनुभयो ।

‘५६ जिल्लामा डेंगु फैलिसकेको छ । हिजो हामीले पश्चिमको बाँके बर्दियामा हुँदा त्यहीँ लोकलाइज गर्न सक्थ्यौं । त्यसको प्रभाव यहाँ आइसकेको छ । अहिले राष्ट्रिय इमरजेन्सीको रुपमा लिन सक्दैनौं भने यसले महामारीको रुप लिन्छ,’ उहाँले भन्नुभयो ।

सांसद अधिकारीले डेंगु परीक्षण निशुल्क गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । मन्त्रीदेखि डाक्टरसम्म डेंगुको संक्रमणमा पर्दा सरकार भने कुहिरोको काग भएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?