नेविसङ्घको महाधिवेशन चाँडो गर्न माग

काठमाडौं । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन चाँडो गर्न विद्यार्थी नेताले माग गरेका छन् ।

नेविसङ्घ महाधिवेशन पक्षधर विद्यार्थीले मङ्गलबार पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वको कमजोरीका कारण भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन हुन नसकेको भन्दै चाँडो गर्नुपर्ने माग गरेका हुन् ।

नेविसङ्घका नेता लिलाबल्लभ दाहालले वर्तमान पार्टी नेतृत्व इतिहासमै कमजोर भएको आरोप लगाउनुभयो ।

“पार्टी सभापतिमात्र नभई सिङ्गो काङ्ग्रेसको केन्द्रीय समिति नै असक्षम बनेको छ”, उहाँले भन्नुभयो । नेविसङ्घका नेता क्षितिज भण्डारीले पार्टी नेतृत्वले समयमै निर्वाचनको मिति घोषणा गरेर अगाडि नबढे आमरण अनशन बस्ने बताउनुभयो ।

नेविसङ्घको निर्वाचनमार्फत नेतृत्व चयन गरी पार्टी बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो । नेविसङ्घका नेता मोती भण्डारीले भ्रातृ संस्थाको महाधिवेशन नगराएर पार्टी जागरण अभियानमा जानु सान्दर्भिक कुरा नभएको बताउनुभयो ।

निवर्तमान कोषाध्यक्ष शिव रिमालले काङ्ग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा नेविसङ्घले आन्तरिक लोकतन्त्र खोज्नुपर्ने अवस्था आउनु विडम्बना भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?