अझै शुरु भएन अग्रीम टिकट बुकिङ, कहिले बाट खुल्छ ?

काठमाडौं । चाडपर्व नजिकिएसँगै राजधानीबाट घर फर्किनेको क्रम शुरु हुनै लागको छ । अघिल्ला वर्षहरुमा दशैं शुरु हुनुभन्दा एक महिना अघिदेखी नै टिकट बुकिङ खुला गरिने गरिन्थ्यो । तर यसपालि दशैं नजिकिए पनि अग्रीम टिकट बुकिङ शुरु हुन सकेको छैन ।

नेपालीहरुको सबैभन्दा ठूलो चाड मानिने दशैंमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुने गर्छन् । टाढा टाढाबाट आई राजधानीमा बिभिन्न पेशा व्यबसाय गरेर बस्नेहरु घर फर्किन सहज बजाउनका लागी अग्रिम टिकट बुकिङले सजिलो हुन्थ्यो तर अहिलेको साल अगृम बुकिङ नहुनुले यात्रुहरुका लागी असहजता हुने देखिएको छ ।

विगत वर्षमा दशैँको समयमा भाडा वृद्धि नगरी टिकट नखोल्ने व्यवसायी अडिग रहेका थिए भने यो वर्ष पनि विभिन्न बहानामा समयमा टिकट नपाउने हो कि भन्ने चिन्ता यात्रुमा छ । समयमा टिकट बुकिङ गरेपछि मात्रै यात्रु ढुक्क हुनसक्ने यातायात क्षेत्रका अभियन्ता राम थापाले बताए। समयमै टिकट खोल्दा चाहने व्यक्ति समयमा नै घर फर्कन सक्ने समेत उनले बताए ।

दशैँका समयमा धेरै यात्रु आवतजावत गर्ने हुँदा यात्रुको सुरक्षाका विषयमा समेत सरकार र व्यवसायी गम्भीर हुनुपर्ने थापाले बताए । दशैँका समयमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्को जिल्लामा धेरै यात्रु जाने गरेका छन् ।

क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराव अवस्थाका सवारी साधनका कारण दुर्घटनाको जोखिम रहन्छ । उनले भने, “कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पु¥याउने भन्ने अहिलेदेखि नै तयारी हुनुपर्छ ।”

दशैंको समयमा राजधानी तथा देशका बिभिन्न शहरहरुबाट ठूलो मात्रामा गाँउ फर्किन्छन , राजधानीको कुरा गर्ने हो भने चाडपर्वको समयमा सुनसान हुने गर्दछ । अझैपनि टिकट बुकिङ खुल्न नसक्नुले टाढा टाढा जाने यात्रुहरुमा निराशा छाउन थालको छ । सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ ।

यातायात व्यवस्था विभागले यो साता मात्रै सरोकारवाला निकायसँगको छलफल शुरु गरेको छ । आगामी साता सरोकारवाला निकायसँग विभागमा बस्ने वैठकले अग्रीम टिकट कहिलेदेखि खोल्ने भन्ने निर्णय हुने महानिर्देशक गोगनबहादुर हमालले बताए ।

व्यवसायीले दिने सवारी साधनको सङ्ख्या र सम्भावित यात्रुको सङ्ख्याका आधारमा निर्णय हुने उहाँले बताउनुभयो । उनले भने, “उहाँहरु सबै तथ्याङ्क लिएर आगामी साता आउनु भएपछि मात्रै थप निर्णय हुनेछ ।”

सबैभन्दा बढी यात्रुको चाप काठमाडौँमा रहेकाले पहिले काठमाडौँमा रहेका सवारी साधनको सङ्ख्या र अवस्थाका बारेमा अध्ययन हुने महानिर्देशक हमालले बताउनुभयो । यहाँ रहेका सवारी साधन पर्याप्त नहुँदा काठमाडौँ बाहिरका रुटमा चलेकालाई समेत काठमाडौँ ल्याएर सञ्चालन गरिने उनको भनाइ छ ।

सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने विभागको योजना छ । विगतमा भएका गल्ती यस वर्ष हुन नदिइने उहाँले बताउनुभयो । उनले भने, “एउटा गाडी भनेर अर्कोमा सिट हुने, छतमा यात्रा गर्नुपर्ने अवस्था यो वर्ष आउन दिइने छैन ।”

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यस वर्ष दशैँका लागि भनेर एउटा पनि नयाँ बस व्यवसायीले नकिनेको बताए ।

दशैँ नजिकिएसँगै हरेक वर्षहरु ५००-६०० सम्म नयाँ बस खरीद हुने गरेको थियो । नयाँ बस नहुँदा अहिले भइरहेकै बसबाट व्यवस्थापन गर्नुपर्ने महासङ्घलाई चुनौती रहेको उनले बताए ।
महासङ्घको पहिले देशभर सञ्जाल भए पनि अहिले त्यो नरहनु पनि यातायात व्यवस्थापनको चुनौतीका रुपमा रहेको छ । देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम रहेको उनले बताए । उनले भने, “दशैँ अगाडि नै सबै सडक मर्मत गरिसक्न हामी सरकारलाई अनुरोध गरिरहेका छौँ ।”

यस वर्ष भाडा वृद्धि नहुँदासम्म अग्रीम टिकट नखोल्ने भनेर महासङ्घले अडान नलिएको उनले बताए । भाडा समायोजन नियमितरुपमा भइरहनुपर्छ भनेर महासङ्घले निरन्तर आवाज भने उठाइरहेको उनले बताए ।

दशैंका लागी अग्रीम टिकट खोल्ने विषयमा गत शुक्रबार भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको अध्यक्षतामा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलगायत सरोकारवा लाको बैठक भएको थियो । तर कहिलेबाट टिकट बुकिङ खोल्ने भन्ने अझैसम्म टुङ्गो लागी सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?