युवक अपहरण गरी बन्धक बनाएको आरोपमा ७ जना पक्राउ

काठमाडौं । युवकलाई अपहरण गरि बन्धक बनाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । काठमाडौंस्थित तार्केश्‍वर नगरपालिका-५ फुटुङ बस्ने नुवाकोट दुप्चेश्‍वर गाउँपालिका-१ घर भएका २३ वर्षीय पेम्बा तामाङलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा ७ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं ईचंगु बस्ने सिन्धुली घ्याङ्ले गाउँपालिका-२ का ४२ वर्षीय पूर्णबहादुर वाईवा, काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ५३ वर्षीय राजु खड्गी, काठमाडौं कलंकी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका-९ का ४१ वर्षीय पाल्साङ तामाङ, काठमाडौं जमल बस्ने रामेछाप दोरम्बा गाउँपालिका-७ का ३२ वर्षीय लिला थापा मगर, भक्तपुर सूर्यविनायक बस्ने रामेछाप दोरम्बा गाउँपालिका-७ का ३१ वर्षीय शिवराम थापा मगर, काठमाडौं टोखा बस्ने सुनसरी महेन्द्रनगर नगरपालिका-७ का ३९ वर्षीय राजेश गुरुङ र रसुवा थुमान गाउँपालिका-९ का ३५ वर्षीय जिस घले रहेका छन् ।

काठमाडौं महानगरपालिका-१४ कलंकी मकालु पेट्रोल पम्पको नजिकबाट शनिबार बिहान पेम्बा तामाङलाई केही मानिसहरुले गाडीमा लिई गएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका-१५ छाउनीस्थित ३३ वर्षीय अर्जुन लामाको घरमा निज पेम्बा र उनीहरुलाई फेला पारी नियन्त्रणमा लिएको हो ।
साथै अपहरित पेम्बा तामाङ समेतले ठगी गरेको बुझिन आएको हुँदा निजलाई ठगी मुद्धा तथा अन्य ७ जनालाई अपहरण तथा शरिर बन्धक मुद्धामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?