कुनै पनि खालको निरंकुशता हामीलाई स्विकार्य छैन: प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले हिजोका निरंकुशतावादीहरु र कुनै पनि नामका प्रतिक्रियावादीहरु आएर नेपाललाई फेरी एकचोटी निरंकुशताको जाँतोमा पिस्न दिने काम स्विकार्य नहुने चेतावनी पनि दिनुभयो । सोमबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित सुरेश वाग्ले र भिमसेन पोखरेल स्मृति सभामा बोल्दै उहाँले हाम्रा आफ्नै केही कमीकमजोरी भए त्यसलाई सच्याउँदै अघि बढने पनि स्पष्ट पार्नुभयो । ‘कुनै पनि खालको निरंकुशता हामीलाई स्विकार्य छैन, नेपाली जनतालाई पनि त्यस खालको निरंकुशता स्विकार्य हुनेछैन, अध्यक्ष दाहालको भनाई थियो, ‘इतिहासको चक्कालाई पछाडि धकेल्ने र हजारौं जनयुद्ध र जनआन्दोलनका सहीदहरु र लाखौं जनताको त्यागबाट प्राप्त गणतन्त्र र संघीय लोकतन्त्रलाई उल्याउटे कुुरा कुनै पनि हालत दिन सकिने छैन ।’

अध्यक्ष दाहालले युगान्तकारी परिवर्तनको आधारशिला तयार पार्ने तथा क्रान्तिकारी विद्रोहका नेताहरुलाई बदनाम गर्ने गतिविधिमा प्रतिक्रान्तिको गन्ध आएको, चिहानमा पुगिसकेका हिजोका निरंकुशतावादीहरुले फेरी जीवित मान्छेलाई दुःख दिने प्र्रयास गरेको उल्लेख गर्दै त्यसबाट सचेत भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो । उहाँले कहिलेकाँही सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा स्याललाई सिंहसँग तुलना गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले पार्टी र सरकारका काममा केही कमजोर भएको हुन सक्ने उल्लेख गर्दै सच्याउँदै अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?