राष्ट्र बैंकले सोमबार ४ अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ४ अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्ने भएको छ । ट्रेजरी एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ । बोलपत्रमार्फत ट्रेजरी बिक्रीका लागि राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले सूचना जारी गरेको हो ।

बोलकबोलको लागी सोमबार अपराह्न ३ बजेको समय छुटयाइएको छ भने मंगलबार मात्र ट्रेजरी जारी गरिनेछ । खासगरि ट्रेजरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिन्छ । उक्त ट्रेजरी ९१ दिने २ अर्ब २६ करोडको र एक वर्ष अवधिको २ अर्बको रहेको छ । जसअनुसार ९१ दिन अवधिको ट्रेजरी आउँदो मंसिर २४ गते परिपक्व हुनेछ भने एक वर्ष अवधिको ट्रेजरी ०७७ भदौ २३ मा परिपक्व हुनेछ ।

ट्रेजरी किन्न अनलाइन बिडिङ सिस्टमबाट भाग लिनुपर्नेछ । जारीका लागि आह्वान गरिएको मध्ये १५ प्रतिशत अप्रतिस्पर्धी बोलवालाको लागि सुरक्षित हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै छुट गरिएको आम्दानीमा कर लाग्नेछ ।

राष्ट्र बैंकले यसअघि गत १६ गते ९१ दिने अवधिको ३ अर्ब १३ करोडको र १ सय ८२ दिन अवधिको ५ अर्ब ५२ करोडको ट्रेजरी जारी गरेको थियो ।

ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्रऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ ।

ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित आम्दानीमा आयकर लाग्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?