भोलिदेखि मनसुन अझै सक्रिय हुने, यस्तो रहनेछ आगामी ३ दिनको मौसम

काठमाडौं । मनसुनी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपासमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उक्त न्यूनचापीय रेखा तलतिर सर्ने क्रम जारी रहेकाले अबका केही दिन मनसुन सक्रिय रहने मौसमविद्को भनाइ छ । आज र भोलि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “सोमबारदेखि मनसुन अझै सक्रिय हुँदै जानेछ”, मौसमविद् बासीले भन्नुभयो ।

हाल देशभरि आंशिकदेखि सामान्य बदली भई पश्चिमी भू–भागका केही स्थानमा साथै पूर्वी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । राति देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मध्य र पूर्वी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?