अबदेखि ‘भद्रगोल’ मा पाँडे र जिग्री नहुने, को बन्दै छ ‘डन’ ?

काठमाडौँ । केही समय अगाडि बन्द भएको चर्चित हाँस्य टेलीशृङ्खला ‘भद्रगोल’ आजबाट नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारसाथ प्रसारणमा आउने भएको छ ।

यसअगाडि यो शृङ्खला निर्माण अभिनय गर्दै आएका कुमार अर्जुन घिमिरे ‘पाँडे’, कट्टेल ‘जिग्री’ लगायतको टीमले छोडेपछि यो श्रृखला नयाँ शैलीमा आउन लागेको हो ।

अहिले प्रसारण हुन लागेको ‘भद्रगोल’ नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्ले र अशोक धितालको निर्देशनमा आउन लागेको हो । असोक यस अगाडि पनि उक्त शृङ्खलामा बाहुन डनको चरित्र निर्बाह गर्दै आएका छन् ।

काफ्ले भने भद्रगोलमा मङ्गल थाडु बनेर देखिँदैछन्, भने अशोक धिलात बाहुन डन बनेर आउने भएका छन् । सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारको समेत यो श्रृखलामा अभिनय रहनेछ ।

‘भद्रगोल’का निर्देशकसमेत रहेका अर्जुन घिमिरे ‘पाँडे’ले केही साता पहिले सामाजिक सञ्जालमार्फत् एक लामो स्टाटस पोष्ट गर्दै ‘भद्रगोल’ बन्द भएको जानकारी गराउनुभएको थियो ।

करिब तीन बर्षदेखि निरन्तर प्रसारण हुँदै आएको ‘भद्रगोल’ छोटो समयमा नै दर्शकमाझ लोकप्रिय बन्न सफल भएको थियो । यस अघिको भद्रगोलको निर्देशन अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ ले गर्दै आउनुभएको थियो। यसमा अर्जुन घिमिरे ‘पाँडे र कुमार कट्टेल ‘जिग्री’, रक्षा श्रेष्ठ लगायत कलाकारको अभिनय रहँदै आएको थियो ।

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ८ः३० बजे प्रसार हुँदै आएको यो शृङ्खला अहिले पनि सोही समयमा प्रसार हुने बताइएको छ ।
यसैबीच अर्जुन घिमिरे ‘पाँडे’ ले आफुहरुले सिर्जना गरेको ‘भद्रगोल’ बिना जानकारी मिडिया हबले दर्ता गराएको र आफुहरुले पाउनुपर्ने पैसा नपाएकाले छोडेको बताउनुभएको छ । उहाँले नयाँ टेलीसिरियलबारे छलफल भइरहेको लोकपथलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?