नेपाली कांग्रेसले ३५ हजार विरुवा राेपेर ३१ हजारभन्दा बढीलाई पार्टी प्रवेश गराउने

काठमाडौँ । नेपाली कांग्रेसले दोस्रो चरणको देशव्यापी जागरण अभियान गर्ने भएको छ । बीपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसरमा भदौ २४ गतेदेखि असोज ७ गतेसम्म कांग्रेसले दोस्रो चरणको देशव्यापी जागरण अभियान गर्न लागेको हो । कांग्रेसले प्रदेश अन्तर्गतका ३३० वटै निर्वाचन क्षेत्रमा वृक्षारोपण गरेर जागरण अभियान सुरु गर्ने तयारी गरेको छ । हरेक निर्वाचन क्षेत्रमा १०६ वटा विरुवा गरि देशभर ३४ हजार ९ सय ८० विरुवा रोपिने कांग्रेसको कार्यक्रम रहेको छ ।

कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दोस्रो चरणको जागरण अभियानका क्रममा विशेष सामिजिक संवाद, समाजिक विसंगतिविरुद्धको अभियान, युवा केन्द्रित अभियान, वडा स्तरीय अन्तरक्रिया लगायतका कार्यक्रम रहेका जानकारी दिनुभयो ।

पहिलो चरणको जागरण अभियानमा ३१ हजार ६ सय ४२ जना पार्टी प्रवेश गरेकोमा दोस्रो चरणको अभियानमा त्यो भन्दा बढीलाई पार्टी प्रवेश गराउने लक्ष्य रहेको कांग्रेस प्रवक्ता शर्माको भनाई छ ।

जागरण अभियानका क्रममा स्थानीय सरकारको दुई वर्षको कार्यकालको समिक्षा गर्ने र अन्तिम दिन असोज ७ गते जिल्लाहरुमा सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?