विश्वकप छनोट: नेपालले कुवेतसँग भिड्दै

काठमाडौं । फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले विजयी लक्ष्यका साथ कुवेतविरुद्व मैदानमा उत्रनेछ । उक्त खेल कुवेतस्थित जाविर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति १०ः४५ बजे शुरु हुनेछ ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चिनियाँ ताइपे छन् । नेपालले होम एण्ड अवेका आधारमा आफना समूहका चार टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

फिफा वरियतामा नेपाल भन्दा कुवेत चार स्थानमात्र माथि छ । तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । नेपालले गत चैतमा कुवेतविरुद्व दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेल नेपालले १-० गोलअन्तरले हारेको थियो ।

हेड टु हेडको आधारमा हालसम्म खेलिएका ६ खेलमध्ये पाँच खेलको नतिजा कुवेतले आफनो पक्षमा पारेको छ भने बाँकी एक खेल बराबरीमा सकिएको थियो ।

नेपालले सन् १८८२ नोभेम्बरमा भएको एशियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो । सो खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो भेट सन् १९८६ को एशियन गेम्समा भएको थियो, त्यतिबेला नेपाल कुवेतसँग ५-० गोल अन्तरले पराजित भयो । त्यसैगरी सन् १९९४ मा भएको एशियन गेम्समा नेपाल कुवेतसँग ८-० गोल अन्तरले पराजित भएको थियो । सन् २००० मा भएको एशियन गेममा कुवेतसँग नेपाल ५-० गोल अन्तरले पराजित हुन पुग्यो ।

त्यस्तै नेपालले गत चैतको पहिलो सातामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो । यो नै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो ।

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?