निजगढ विमानस्थल तोकिएको स्थानमा नै बन्छः पर्यटन मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने स्थानबारे विकल्प सोच्न नसकिने स्पष्ट पार्नुभएको छ । वातावरण पत्रकार समूह (नेफेज) ले काठमाडौँमा बिहीबार निजगढ विमानस्थलका सम्बन्धमा उब्जिएको चासोबारे गरेको कार्यक्रममा मन्त्री भट्टराईले स्थानबारे विकल्प सोच्न नसकिने तर वातावरणीय प्रभाव कम भन्दा कम होस् भन्ने पक्षमा सरकार सचेत रहेको बताउनुभयो ।

प्रदेश २ सरकारले रुख काटेर विमानस्थल बनाउन नदिने बताइरहेका बेला पर्यटन मन्त्री भट्टराईले तोकिएको स्थानमा नै विमानस्थल बन्ने स्पष्ट पार्नुभएको हो ।

उहाँले केही महिनाभित्रै विमानस्थलको निर्माणको सम्पूर्ण मोडालिटी तयार पारेर निर्माण कार्य सुरु गरिनेपनि जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले वातावरणको विषयलाई लिएर रुख काट्न हुँदैन भन्नेहरुले आफ्नो विमात्ति देशभित्रै राख्न तर अन्तर्राष्ट्रिय फोरममा भने देशकै पक्षमा बोल्न पनि आग्रहग गर्नुभयो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि २४ लाख रुख काट्नुपर्ने हुन्छ । तर, प्रदेश २ सरकारले जंगल क्षेत्रलाई विस्तार गर्ने भन्दै रुख काटेर विमानस्थल बन्न नदिने जनाएको छ । यद्यपि प्रदेश २ का विभिन्न स्थानीय तहले भने प्रदेश सरकारको विमानस्थल बन्ने नदिने योजनाको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?