बढ्दो आत्महत्या चिन्ताजनक समस्या

appharu
0
Shares

फिदिम । विगत तीन आर्थिक वर्षको तथ्याङ्कले पाँचथरमा आत्महत्या चिन्ताजनक समस्याका रुपमा विकास भएको पाइएको छ । तीन आर्थिक वर्षमा वर्षेनी ४० भन्दा बढी मानिसले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् भने केहीले विषसेवन गरेर आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष २०७३/७४ मा ४९ ले आत्महत्या गरेका थिए भने आव २०७४/७५ मा ४७ ले आत्महत्या गरेका थिए ।

गत आर्थिक वर्षमा ४४ ले आत्महत्या गरेका प्रहरीको तथ्याङ्क छ । गत जेठ ६ गते मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका सामूहिक हत्याका अभियुक्त बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमले सोही दिन आफ्नै गाउँमा झुण्डिएर आत्महत्या गरे ।

मानबहादुरले सामूहिक हत्याकाण्ड मच्चाएको प्रशस्त प्रमाण भेट्टाएको प्रहरीले मानबहादुरले नौ जनाको हत्यापछि मृत्युको बाटो रोज्दा घटनामा उनीबाहेक अन्य व्यक्तिको संलग्नता रहे÷नरहेको अझै पत्ता लगाउन सकेको छैन । प्रहरी मानबहादुर नै हत्याकाण्डका योजनाकार एवं अभियुक्त भएको निष्कर्षमा पुगिसकेको छ ।

चरम निराशा र कुण्ठाग्रस्त बनेका मानबहादुरले आत्महत्याअघि सामूहिक हत्याकाण्ड मच्चाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आरुबोटेको सामूहिक हत्याकाण्ड मात्रै नभई पाँचथरमा १५ वर्षीया किशोरी शीतल योङहाङ र २२ वर्षीया सुजाता तामाङको छुट्टाछुट्टै हत्यापछि आपराधिक घटनामा भएको वृद्धिप्रति आम मानिसमा चिन्ता त छँदैछ आत्महत्याको बढ्दो क्रमले अर्को चिन्ता थपेको छ । आत्महत्या गर्नेमा बालबालिकादेखि प्रौढसम्म छन् ।

ताप्लेजुङ घर भएका एक युवक फिदिममा परिवारसहित बस्थे, ज्याला मजदुरी गरेर दैनिकी चलाउँथे । केही महीनाअघि उनले श्रीमतीलाई खाजा खान भन्दै रु १०० थमाए । श्रीमती खाजा खाएर फर्कँदा उनी कोठामा झुण्डिएको अवस्थामा फेला परे । हिलिहाङ–५ की एक अधवैंशे महिला खेतमा रोपाइँ रहेका दिन घरैमा झुण्डिएको अवस्थामा फेला परिन् ।

परिवारका अन्य सदस्य रोपाइँमा व्यस्त थिए, उनी खाजा बनाउन घरमा बसेकी थिइन् । साँझ ५ः०० बजेसम्म पनि खाजा नल्याएपछि श्रीमान् घर पुगे । तर, श्रीमती झुण्डिरहेको अवस्थामा फेला परिन् । इलाम घर भई जिल्लाको फिदिम नगरपालिका–८ तमाखेमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी जवानमाथि स्थानीय किशोरीलाई जिस्क्याएको आरोप लाग्यो ।

किशोरीका परिवारका सदस्यले प्रहरी चौकीमा मौखिक उजुरी दिए । साँझमा जिल्ला प्रहरी कार्यालयले उनलाई भोलिपल्ट फिदिम पठाउन निर्देशन दियो । लगत्तै आरोपित प्रहरी जवान चौकीबाट फरार भए । लामो समय नफर्किएपछि खोजी गर्ने क्रममा चौकीभन्दा करीब १०० मिटर पर डोरीको पासो लगाई उनले आत्महत्या गरेको भेटियो ।

यी उदाहरणले धेरैले आवेगमा आत्महत्याको बाटो रोज्ने गरेको देखाउँछ । धेरै आत्महत्याका कुनै पनि कारण भेटिएका छैनन् । कतिपयले सामान्य समस्यामै आत्महत्याको बाटो रोज्ने गरेका छन् । तर, आत्महत्याले सामाजिकरूपमा भने समस्या सिर्जना गर्न थालेको छ । प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपाने आत्महत्याको तथ्याङ्क चिन्ताजनक रहेको बताउनुहुन्छ ।

“पहिला पाँचथरको छिमेकी इलाम आत्महत्यामा देशमै अघि थियो, तर अहिले पाँचथरमा आत्महत्या गर्नेको सङ्ख्या अत्यधिक बढेको छ”, प्रनाउ न्यौपानेले भन्नुभयो, “आत्महत्या गर्नेको सङ्ख्या हेर्दा यो समस्या चिन्ताजनक देखिन्छ ।” वैदेशिक रोजगारीका कारण सिर्जित समस्या आत्महत्याको प्रमुख कारण रहेको प्रहरीको ठम्याइ छ । श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीमा गएपछि शारीरिक आवश्यकता र एक्लोपनाका कारण कयौँले आत्महत्याको बाटो रोज्ने गरेका छन् ।

यस्तै विवाहेत्तर सम्बन्धका कारण पनि आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको पाइन्छ । यौनजन्य क्रियाकलापलाई सामान्य मान्ने तर त्यसबाट सिर्जित चुनौती सामना गर्न नसक्दा केहीले मृत्युको बाटो रोज्ने गरेका प्रहरीको अनुसन्धानले देखाएको छ । सामाजिक सञ्जाल तथा इन्टरनेटको अत्यधिक प्रयोग, बेरोजगारी, तीव्र महत्वाकाङ्क्षा, एक्लोपनालगायतका कारणले समेत आत्महत्याका घटना वृद्धि भएको पाइएको छ ।

यी कारणले मानिसमा ‘डिप्रेसन’को समस्या निम्तने र यसले आत्महत्याको बाटो रोज्ने गरेको प्रहरी अनुसन्धानमा खुल्ने गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा हिंसाका घटना बढेभन्दा चिन्ताजनक स्थिति आत्महत्या गर्नेको सङ्ख्याले निम्त्याएको बताउनुुहुन्छ । रवीन्द्र काफ्ले / रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?