भारतले बनाएको बाँधको ढोकाहरु नखोल्दा २ सय बिगहाकाे धानखेती डुबानमा

चामल दिएर समय समयमा बाँधको ढोका खोलाउने गरेको स्थानीयकाे भनाई ।

कपिलवस्तु । भारतले बनाएको बजहा बाँधले नेपाली भू–भागको २ सय बिगाह खेती योग्य जमिन डुबानमा परेको छ । पछिल्लो साताको वर्षाका कारण बजहा तालमा पानी भरिँदा नेपाल तर्फको मायादेवी गाँउपालिका वडा नम्बर ४ पिपराको तुलसीडिहवा गाउँ नजिकको २ सय बिगहा धानखेती डुबानमा परेको हो ।

भारतीय पक्षले सिंचाईका लागि ५ सय हेक्टरमा फैलिएको बजहा तालमा तटबन्ध सहितका ढोका राखेको थियो । भारतले बनाएको २७ ढोके बाँधको ढोकाहरु नखोल्दा नेपाली भू–भाग डुबानमा परेको हो । आफुहरुले वर्षौंदेखि डुबानको समस्या भोग्दै आएपनि समस्या समाधान हुन नसकेपछि बाँध कुर्ने कामदारलाई धान चामल दिएर समय समयमा बाँधको ढोका खोलाउने गरेको स्थानीयले बताए ।

केहि बर्षअघि भारतको बजहा, सिसवा, मझौली र महली सागर तालमा एकतर्फि रुपमा लगाईएको बाँधकै कारण नेपाल तर्फका मायादेवी गाँउपालिका र यशोधरा गाँउपालिकाका बिभिन्न स्थानमा रहेको धान खेती डुबानमा पर्दै आएका छन् । सिँचाई अभावका बेला पानी नपाउने र वर्षाका बेला डुबान भोग्नुपर्ने समस्याको स्थायी समाधान हुनु पर्ने स्थानीयको माग रहँदै आएको छ ।

सिमा क्षेत्रका नागरिकको खेतीयोग्य जमिन डुबानमा परेपछि समस्या झन जटिल बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?