निरन्तर ओरालो लागेको शेयर बजारमा आज व्यापक सुधार

काठमाडौं । केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार ठूलो सुधार देखिएको छ । आइतबार र सोमबार दोहोरोे अंकले गिरावट आएको सेयर बजारमा मंगलबार २०.५७ अंकले सुधार भएको छ ।

मंगलबार नेप्से परिसूचक २०.५७ अंकले बढेर १ हजार १ सय ९० दशमलव ९० अंकमा पुगेको छ । यसअघि सोमबार १४ अंकले बजार घटेको थियो ।

पछिल्ला केही दिनहरुको तुलनामा कारोबार रकमसमेत बढेको छ । दिनभर भएका ७ हजार ८ सय १७ कारोबारबाट १७१ कम्पनीका २१ लाख ८४ हजार २ सय ७१ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ५१ करोड ५ लाख ५२ हजार ४१ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

एनबी बैंकको संस्थापक सेयर उच्च कारोबार

मंगलबार सबैभन्दा धेरै कारोबार हुने पहिलो नम्बरमा नेपाल बंगलादेश बैंक देखिएको छ । यो बैंकको संस्थापक सेयर सबैभन्दा धेरै किनबेच भएको हो । मंगलबार यो बैंकको ५ करोड ७२ लाख ३० हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।

सोमबारसम्म १२० रुपैयाँ प्रतिकित्ता रहेको नेपाल बंगलादेश बैंकको संस्थापक सेयर मूल्य २ रुपैयाँले घटेर ११८ रुपैयाँमा बन्द भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो नम्बरमा नेपाल बैंक देखिएको छ । नेपाल बैंकको ३ करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । तेस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ भने चौथो नम्बरमा एनआईसी एशिया बेंक र पाँचौमा सानिमा बैंक देखिएको छ ।

यी बैंकहरुको क्रमशः २ करोड २० लाख, २ करोड १९ लाख र १ करोड ६२ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?