गाई हत्यारालाई पक्राउ नगरे नेपाल ठप्प पार्ने चेतावनी

काठमाडौं । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले भदौ २४ गतेसम्म गौहत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मंगलबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखमा पाल्न पठाउने बहानामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भीरबाट खसालेर ३७ गाईको हत्या एवम् ८६ वटा गाई घाईते हुने गरि गरिएको गौहत्या काण्डको घोर भर्त्सना गरेको छ ।

विज्ञप्तीमा भनिएको छ,‘सनातनदेखि हिन्दू धर्मावलम्वीहरुले माता श्रीलक्ष्मीको प्रतिक समेत मान्दै गौ–माताको दुध मात्र नभएर गौ–मुत्रलाई समेत पवित्र मान्दै आएका छौं । यसका अलावा राष्ट्रिय जनावरसमेत रहेकी गौ–माताको यस प्रकारले हत्या हुनुलाई सामान्य रुपमा लिन सकिँदैन् ।’

समितिले विज्ञप्तीमार्फत थप भनेको छ,‘धर्म, संस्कृति र परम्परामा आफ्नै किसिमको विधि विधान संस्कार हुने गर्दछ । त्यसलाई यो वा त्यो कारणले मिच्न वा मास्न खोज्नु, सनातन हिन्दू धर्ममाथि सरकारको हस्तक्षेप गर्ने कार्यको थालनी हो ।’
पशुपति क्षेत्र विकास कोषको कारणले पाशुपत क्षेत्रका धेरै जात्राहरु बन्द भैसकेको समितिको आरोप छ । क्षेत्र विकास कोषले पाशुपत क्षेत्रलाई व्यापारिक क्षेत्रको रुपमा विकास गर्न लागिपरेको छ ।’ समितिले सनातन हिन्दू धर्म विरुद्धका कार्य रोक्न माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरुसमेत सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको कार्यक्रममा यही भदौ १९ गते देशैभरिका जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २० गते धार्मिक संघसंस्थाबीच अन्तरक्रिया गर्ने, भदौ २१ गते बिहान सरकारको सतबुद्धिको कामना गर्दा कमलादी गणेशस्थानमा पुजाआजा गर्ने, भदौ २३ गते महासंघ परिसरमा हत्या गरिएको गौ–माताहरुको चीर शान्तिको लागि श्रद्धाञ्जली सभा गर्ने, भदो २४ गते नेपालस्थित् संयुक्त राष्ट्रसंघको कार्यालययमा ज्ञापनपत्र बुझाउने रहेका छन् ।
भदौ २४ गतेसम्मपनि आफ्ना मागहरु पूरा नभए र सरकारले ध्यान नदिए बाध्य भएर दोस्रो चरणका कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्नपनि आफूहरु बाध्य हुने समितिका अध्यक्ष थापाले जनाएका छन् । उनकाअनुसार भदौ २४ गतेपछि हुने आन्दोलनमा काठमाडौं उपत्यका बन्द, नेपाल बन्ददेखि लिएर दशैंको मुखमा तीन तहका सरकार प्रमुखहरुलाई मन्दिर प्रवेशमा निषेध गराउनेसम्मका हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?