जागिर लगाईदिन्छु भन्दै आधा दर्जन युवतीमाथि बलात्कार, रोजगारीडटकमको म्यानेजर हुँ भन्दै फोन गर्थे !

काठमाडौं । जागिर लगाइदिने प्रलोभनमा युवतीहरुलाई यौन शोषण गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका-२ सितापुर बस्ने २९ वर्षीय सन्ताेषकुमार यादव रहेका छन् ।

यादवले युवतीहरुलाई जागिर लगाइदिने भन्दै यौन शोषण गर्नुको साथै उनीहरुबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

एक वर्षअघि मात्र मोरङ्ग जिल्ला अदालतबाट एक युवतीको बलात्कार तथा लुटपाट घटनामा दोषी ठहर भई सजायसमेत तोकिएका यादव फरार थिए । यादवलाई गोप्य सूचनाका आधारमा सोमबार राती मोरङ्गको बुढी गंगा नगरपालिका-३ स्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो ।

यादवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । अपराध लुकाउन समाजिक सञ्जाल इमोमा आफूलाई सञ्जिव खड्का भनी चिनाउने यादव आधा दर्जन बलात्कार तथा लाखौं रुपैयाँ लुटपाट र ठगी गरेको घटनामा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।

इमोमार्फत युवतीहरुको फोन नम्बर पत्ता लगाइ उक्त नम्बरमा फोन गरी ‘म रोजगारीडटकमको म्यानेजर हुँ, विभिन्न बैंक र संस्थामा जागिर लगाइदिन्छु’ भन्दै प्रलोभन देखाइ घरमै बोलाई बलात्कार गर्ने गरेका थिए ।

उनले तीन जना युवतीलाई एनआइसी एसिया बैंकमा जागिर लगाइदिन्छु भन्दै घरमै बोेलाई नियुक्ति पत्रसमेत दिएर जबर्जस्ती करणी गरेका थिए । विषयमा पीडितहरु प्रमाणसहित सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवका साथबाट ८ थान मोबाइल, खुकुरी १ थान, चक्कु १ थान, विभिन्न बैंकको चेकबुक ४ थान, भिसाकार्ड १ थान, विभिन्न युवतीका नाममा लेखिएको नियुक्ति पत्र ४ थान, आन्तरिक राजश्व विभागको स्टिकर ४ थान, बिमा कागजात २ थान, युवतीहरुबाट लुटिएको सुन र चाँदीको गरगहना तथा नगद ३३ हजार रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ ।

अदालतबाट म्याद थप गराइ उनीमाथि जबर्जस्ती करणी उद्योग, लुटपाट तथा ठगीलगायतका मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?