खरको छानो हटाउन वडा कार्यालयको यस्तो सक्रियता

काठमाडौं । तनहुँको ब्यास नगरपालिका-५ ले वडाभित्र खरले छाएको छानो विस्थापित गर्ने भएको छ । खरको छानामुक्त वडा बनाउने उद्देश्यले त्यस्ता घरमा जस्तापाताको छानो राख्न वडा कार्यालयले बजेट विनियोजन गरिसकेको छ ।

सो कार्यका लागि चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरिनाका साथै लागि खरको छानो भएका घरको तथ्याङ्क सङ्कलन शुरु गरिसकेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“हालसम्म दुई सयभन्दा बढी घरको तथ्याङ्क आइसकेको छ,” उहाँले भन्नुभयो, “पूरै तथ्याङ्क प्राप्त भएपछि खरको छानो विस्थापित कार्यक्रम शुरु गर्छौ । यस कार्यका लागि चालु आर्थिक वर्षको बजेट अपुग भए आगामी वर्षमा पनि बजेट विनियोजन गरिनेछ । ”

सङ्घीय सरकारको नीति बमोजिम जिल्लाका २५० घरधुरीमा चालु आर्थिक वर्षमा खरको छानो विस्थापित गरिँदैछ । ब्यास नगरपालिकाको ७ देखि १४ वडा, भीमाद नगरपालिका र रिसिङ गाउँपालिका अन्तर्गतका वडामा खरको छानो विस्थापित गरिने सरकारको कार्यक्रम छ ।

सङ्घीय सरकारमार्फत् ब्यास नगरपालिका-५ मा खरको छानो विस्थापित गर्न बजेट नपरेपछि वडाकै सक्रियतामा खरको छानो विस्थापित गर्न लागिएको र यसमा विपन्नलाई प्राथमिकता दिइने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?