घरेलु टोलीविरुद्ध न्युजिल्याण्डको पहिलो जित, मालिंगाले रचे विश्व कीर्तिमान

एजेन्सी । श्रीलंका भ्रमणमा रहेको न्युजिल्याण्डले घरेलु टोलीविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ । आइतबार राति भएको खेलमा न्युजिल्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १७५ रनको लक्ष्य न्युजिल्याण्डले १९ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डका लागि रोस टेलरले ४८ रन बनाउनुभयो । यस्तै कोलिन डी ग्राण्डहोम्मेले ४४ तथा जोसेप मिचेलले अविजित २५ रन बनाउनुभयो ।

श्रीलंकाका लागि मालिंगा र हसरंगा डी सिल्भाले २–२ विकेट लिनुभयो ।

न्युजिल्याण्डसँगको खेलमा २ विकेट लिएसँगै मालिंगा टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने पहिलो खेलाडी बन्नुभएको छ । मालिंगाले टी–ट्वान्टी अन्तराष्ट्रियमा ९९ विकेट लिँदै कीर्तिमान बनाउनुभएको हो । मालिंगापछि सर्वाधिक विकेट लिने खेलाडी पाकिस्तानका साहिद अफ्रिदी हुनुहुन्छ । उहाँले ९८ विकेट लिनुभएको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

जितसँगै तीन खेलको सिरिजमा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ ।

तस्वीरः इएसपिएन डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?